काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टिबिसी)ले लुम्बिनी प्रदेशको बुटवलमा नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ।
सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो।
टिबिसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ।
कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकाले आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए।
नमस्तेको व्यवस्थापन टिबिसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरु हुने भएका छन्। लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रमहरु थप गरेको हो।
यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन्।
बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।