नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ।
पहिले कायम मूल्यबाट पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक रूपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रूपैयाँ र डिजलको मूल्य १११ रूपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटाउनको कारण पाँच राजनीतिक दलनिकट विद्यार्थीको आन्दोलनको माग रहेको निगमको दाबी छ।
बुधबार राति १२ बजेदेखि नयाँ मूल्य कार्यान्वयनमा आउने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले लागत बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपरेको निगमको भनाइ छ।
‘आन्दोलनरत् पाँच विद्यार्थी संगठनले निगमको यो निर्णयपछि सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने निगमले विश्वास लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं आन्दोलनमा थिए।