अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका छन्।
अर्थमन्त्री नियुक्त भएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले अर्थतन्त्रको यथार्थ विवरणहरु समेटेर श्वेतपत्र ल्याउने बताएका हुन्।
यसअघिको सरकार विदा हुँदासम्मको अवस्थाको वास्तविक चित्र जनतालाई जानकारी दिनुपर्ने सरकारको दायित्व भएको उनले बताए।
यसअघि केपी ओली नेतृत्वमा सरकार गठन हुँदा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र ल्याएका थिए।
अर्थमन्त्री शर्माले निवर्तमान सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभामा प्रस्तुत हुने बताए। बजेट परिमार्जन तथा प्रतिस्थापनको विषय सदनबाटै स्पष्ट हुने उनले बताए।
‘अध्यादेश सदनमा लिनैपर्छ। अब बजेटको आगामी कदम सदनले नै क्लियर गर्छ। हामीले मात्र भनेर हुने अवस्था छैन’, शर्माले भने।
यद्यपि बजेट परिमार्जन हुने संकेत शर्माले गरेका छन्। अहिले बजेटका बारेमा आफूले परामर्श गरिरहेको उनले बताए।
मौद्रिक नीति आउन अझै समय लाग्ने मन्त्री शर्माको भनाइ छ।
मौद्रिक नीति तत्काल नआउने उनको भनाइले बजेटमा व्यापक परिमार्जनको संकेत गरेको छ।
आजदेखि सुरु भएको आर्थिक वर्षका लागि आउनुपर्ने मौद्रिक नीति अझै सार्वजनिक भएको छैन। यसअघि राष्ट्र बैंकले साउन चार गतेभित्र मौद्रिक नीति ल्याउने तयारी गरेको थियो।