तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औजार तथा उपकरण प्रदान गरेको छ।
लोप हुँदै गरेको आरन व्यवसायलाई प्रवर्द्धन गर्ने र व्यवसायलाई आधुनिकीकरण गर्नको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो।
कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले विभिन्न औजार तथा उपकरण उपलब्ध गराएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन्।
नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरण प्रदान गरेको हो।
व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रम सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताए।
नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डरलगायतका औजार प्रदान गरेको हो।
पुर्खौंदेखि आरनको काम गर्दै आए पनि हालसम्म सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरू निकै उत्साहित भएको वडा नं. ११ का कृष्ण बहादुर विश्वकर्माले बताए।
तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायी रहेको अनुमान छ।