काभ्रेको पाँचखाल नगरपालिका नगरप्रमुख महेश खरेलका धर्मपत्नी नम्रता काफ्ले खरेलले पलाञ्चोकी मन्दिर परिसर रहेको जग्गा पार्किङको लागि किन्न रकम सहयोग गरेकी छन्।
उनले आफ्नो व्यक्तिगत तीन लाख र आफ्नो व्यापारिक समूहबाट १८ लाख गरी कुल २१ लाख रुपैयाँ जग्गा किन्नका लागि सहयोग गरेकी हुन्।
आफ्नो जन्म दिनको अवसरमा नम्रताले नगर प्रमुख खरेलको उपस्थितिमा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिन्।
सो ठाउँको व्यक्तिको नाममा रहेका ८१ आना जग्गा मध्ये पाँचखाल नगरपालिकाले ९ आना सहित ३० आना जग्गा खरिद भइसकेको नगरप्रमुख खरेलले जानकारी दिए।
बाँकी रहेको ५१ आना जग्गा पनि बैना भइसकेको खरेलको भनाई छ। हालसम्म व्यक्तिगत रुपमा नम्रता काफ्ले र उनको समूहले सबैभन्दा बढी २१ लाख, दिलबहादुर श्रेष्ठले ३ लाख, रामहरी श्रेष्ठले ३ लाख ३५ हजार, रामबहादुर श्रेष्ठले ३ लाख ५१ हजार, श्यामलाल श्रेष्ठले ३ लाख ३ हजार, दिपककुमार खड्काले ३ लाख रकम सहयोग गरेको पाँचखाल अध्यक्ष किरणले जानकारी दिए।
सो जग्गा खरिदको लागि नगर प्रमुख खरेलको अगुवाइ र वडाध्यक्ष श्रेष्ठको समन्वयमा आना क्लब सुरु गरिएको छ।
एक आनाको तीन लाख रूपैयाँ तोकिएको आना क्लबमा आम सर्वसाधारणले सहयोग गर्न सक्नेछन्। सहयोग गर्न चाहेमा कृषि विकास बैंक पाँचखाल खाता नम्बर ०२१२७०१८०८०६६०१५ र नेपाल बैंक खाता नम्बर १२४००१०६९८६६०५०००००१ मा सहयोग गर्न सकिनेछ।