बुद्ध एयरले काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको छ। आगामी साउन १६ गते आइतबारदेखि पोखरा-नेपालगञ्ज-पोखरा सिधा उडान भर्न लागेको हो।
शुरूवातमा साताको ३ दिन आईतबार, बुधबार र शुक्रबार उडान भरे पनि यात्रुको माग अनुसार उडान थप्दै लैजाने योजना भएको बुद्ध एयरले जनाएको छ।
पोखरा-नेपालगन्जको उडानबाट दुबै शहरका जनता लभान्वित हुने भन्दै यी दुबै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
‘नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने हाम्रो विश्वास छ। साथै नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन्’, जोशीले भने।
यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि यो उडानमा आकर्षित हुने बुद्ध एयरले जनाएको छ।
यो रूटको भाडा बुद्ध एयरले पुरा भाडा ४९३५ तोकेको छ।
बुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि सञ्चालन गर्नेछन् ।
‘बुद्ध एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ। कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पिपिई प्रदान, विमा र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ । अहिले हवाई सेवा लिने यात्रु संख्या मनग्गै बढेको छ’, जोशीले भने।
बुद्ध एयरसँग ७२ सिटे एटीआर-७२ जहाज १० वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुई वटा बीचक्राफ्ट जहाहरु रहेका छन्।