काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौंमै अवतरण गराइएको छ।
उडानकै क्रममा जहाजको हाइड्रोलिकमा समस्या आएपछि जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख प्रताव तिवारीले जानकारी दिए।
‘उडानको क्रममा रहेको कुनै पनि जहाजको हाइड्रोलिकमा समस्या आएपछि लामो धावनमार्गमा अवतरणको प्राथमिकता दिइन्छ, सोहीअनुसार बुद्धको जहाजलाई काठमाडौंमै अवतरण गराइएको हो,’ तिवारीले सेतोपाटीसँग भने।
बिएचए २५५ नम्बरको बुद्धको उक्त उडान गरेको एटिआर ७२ जहाज बेलुका ६ बजेर ३ मिनेटमा काठमाडौं अवतरण भएको हो।
अवतरणका क्रममा विमानस्थलको सुरक्षा संयन्त्रलाई तैनाथ राखिएको थियो। सबै यात्रु सकुसल रहेको तिवारीले जानकारी दिए।
तिवारीका अनुसार बुद्ध एयरको अर्को जहाज पनि काठमाडौं डाइभर्ट भएको छ। नेपालगञ्जका लागि उडेको जहाजमा सवार बिरामी यात्रु अचेत भएपछि काठमाडौं अवतरण गराइएको तिवारीले जानकारी दिए।
‘डाक्टरसहितको टिममा रहेका ती बिरामी उडानकै क्रममा फेन्ट भएपछि काठमाडौं अवतरण गराइएको हो,’ तिवारीले भने।