काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन्।
नगर प्रमुख महेशका अनुसार 'स्मार्ट सिटी' परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ।
नगरपालिकालाई ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) बनाउन आवश्यक प्राविधिक, आर्थिक, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण र आवश्यक अन्य सहयोगलगायत गरी सात बुँदालाई मुख्य आधार बनाएर साझेदारी पत्रमा हस्ताक्षर भएको हो।
साथै जग्गा एकिकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न सहकार्य भएको हो।
नेपाल इन्फ्रास्ट्रक्चरले पाँचखाललाई स्मार्ट सिटी बनाउन आवश्यक सम्भावित परामर्शदाता र निर्माणकर्ताको रुपमा रही कार्य गर्न सहयोग पुर्याउने बताएको छ।
नगरपालिका र बैंक बीचको समझदारी एक वर्षको अवधिको लागि मान्य हुने बताइएको छ।