बुटवलमा विक्रीका लागि राखिएको ८० किलो सडेको माछामासु नष्ट गरिएको छ।
बुटवल उपमहानगरपालिकाले बिहीबार गरेको बजार अनुगमनको क्रममा खान अयोग्य सडेको माछामासु बरामद गरि नष्ट गरिएको हो।
बुटवलको नेपालगञ्ज रोड र अस्पताल लाइनस्थित भुड्कीचोकमा रहेका माछामासु पसलमा गरिएको अनुगमनका क्रममा उक्त माछामासु बरामद गरिएको हो। नेपालगञ्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताल लाइनस्थित भुड्की चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो सडेको मासु नष्ट गरिएको अनुगमन समितिले जनाएको छ।
नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा सडेर खान नमिल्ने अवस्थामा पुगेकोे ३८ किलो माछा बरामद गरिएको थियो।
त्यस्तै, अस्पताललाइनस्थित भुड्की चोकमा रहेको ताहिर मासु पसलबाट फ्रिजमा राखिएको भए पनि सडिसकेको २५ किलो मासु बरामद गरिएको अनुगमन समितिले जनाएको छ।
त्यस्तै, इँट्टाभट्टीमा रहेका केही मासुपसलबाट पनि २० किलोभन्दा बढी सडेको अवस्थामा भेटिएको मासु नष्ट गरिएको छ।
अनुगमनको क्रममा कतिपय मासु पसलहरूले खसी तथा बोकाको भनेर बाख्रीको मासु बेच्न राखेको र उक्त मासु पनि नष्ट गरिएको छ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक गोमादेवी आचार्यको नेतृत्वमा गएको उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायीका प्रतिनिधि सहितको टोलीले मासु पसलहरूमा अनुगमन गरेको थियो।
सो क्रममा मासु पसल व्यवस्थित नगरिएको, पसल तथा फ्रिजभित्र समेत सरसफाइ नगरिएको, बासी र सडेको मासु खुला राखेर बेचबिखन गरिएको पाइएको अनुगमन समितिका संयोजक आचार्यले बताइन्।