पर्यटन प्रर्बद्धन विकासका लागि बुद्ध एयरले साताको ३ दिन पोखरा-नेपालगन्ज पोखरा उडान शुरु गरेको छ। पश्चिम क्षेत्रको बाँके, बर्दिया र पोखरालाई लक्षित गरि उडान शुरु गरिएको हो।
बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको छ । नेपालगन्ज बासीको वर्षौदेखि प्रतिक्षारत नेपालगन्ज–पोखरा उडान शुरु भएको छ।
पर्यटन प्रर्बद्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भब्य स्वागत गरिएको छ। अबिर र गम्छासहित स्वागत गर्न पर्यटन प्रर्बद्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए। पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिए।
नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम ५ हजार ५३५ र अधिकतम ५ हजार ९३५ गरि तीन किसिमको छ।
यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने बुद्ध एयरले बताएको छ। भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।
यसअघि दोस्रोपटक निषेधाज्ञा सुरू हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो। पोखरादेखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले बताए।
नेपालगञ्ज नजिक भारतको ठूलो शहर लखनउ पर्छ। भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ। नेपालगन्ज पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताए। नेपालगन्जदेखि पोखराको उडान समय पनि ३५ देखि ४० मिनेटको हुनसक्ने क्याप्टेन पुनले बताए।
उडान शुरुवात भएकोमा खुसी हुँदै नेपालगंजका ब्यवसायीले यात्रु, विमानका पाईलटसहितका कर्मचारीलाई स्वागत गरेसँगै बुद्ध एयरले टुर प्याकेजसमेत सार्वजनिक गरेको छ।
सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ रातको योजना छ। योजना १० हजार ९ सय ९९ बाट शुरु हुन्छ। त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना १३ हजार ४ सय ९९ बाट शुरु भएको छ।