हस्तकलाको व्यवसायिक संरक्षण र प्रवर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सम्झौता भएको छ।
सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरुबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुनेछ।
आइतबार महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवम् हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी दिए।
आठ लाखभन्दा बढीलाई रोजगारी साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिक रुपमा करिब २० अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको कारोबार हुने गरेकोमा कोरोनाका आन्तरिक र बाह्य दुवै खस्किएको महासंघले बताएको छ।
कोरोनाका कारण कम्तिमा एक वर्षसम्म नेपालमा विदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार बिस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला समाग्री प्रयोगमा ल्याउनुपर्ने महासंघको माग छ।