नवलपुरको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत् राजस्व भुक्तानी सुरू गरेको छ।
मध्यबिन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी सुरू गरेको हो।
मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरबासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नुनपर्ने बताए।
विद्युतीय भुक्तानी सुरू भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइनमार्फत् राजस्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताए।
अनलाइन भुक्तानी सुरू भएपछि राजस्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजस्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ।
विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगरउपप्रमुख ओमकुमारी महतोले बताइन्।
आइतबारदेखि अनलाइन प्रणाली सुरू भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत् झण्झटबिनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ।
विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताइन्।
नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आइटी शाखा प्रमुख नरेश गुरुङले बताए।
अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरूङको भनाइ छ।
करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरूङले बताए।
यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ। अनलाइन प्रणाली सुरू गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरूङको भनाइ छ।रासस