नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पदबहाली गरेका छन्।
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ।
आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ।
मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाई र नवनियुक्त सचिवको स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए। साथै मन्त्रालयको काममा सक्दो खट्न उनले सचिवलाई आग्रह गरे।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने मन्त्री शर्माले बताए।
त्यस्तै अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुलाई समेत कडा मेहनत गर्न उनले निर्देशन दिए।
‘मन्त्रीले देशलाई घाटा हुने काम गरे पनि त्यस्तो काम गर्नु हुँदैन भन्न सक्नुपर्छ। म त्यस्तो कर्मचारी चाहन्छु,’ उनले भने।
कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरे।