अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन्।
बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन्।
‘के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लिन सकिन्छ? के के समस्या समाधान गर्नुपर्ने हो? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,’ मन्त्री शर्माले सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिए।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले केही बाहेक धेरैजसो सार्वजनिक संस्थानहरुको स्थिति राम्रो नभएको भन्दै सुधारको आवश्यकता औँल्याए।
सरकारको छ सय अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरुले ३० हजार रोजगारी पनि सृजना गर्न नसकेको र नाफा आर्जन गर्नुको सट्टा उल्टै सरकारलाई दायित्व थपेको मरासिनीले गुनासो गरे।
संस्थान समन्वय महाशाखा प्रमुख तथा सहसचिव दीर्घराज मैनालीले सार्वजनिक संस्थानहरुको विद्यमान अवस्था प्रस्तुत गरेका थिए।
उनले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी लिमटेड, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलगायतका संस्थानहरु नाफामा रहेको जानकारी दिए।
सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानहरु ४४ वटा छन्। औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन्। यसमध्ये २४ वटा संस्थानहरु नाफामा सञ्चालित छन भने १८ वटा घाटामा सञ्चालित छन्।