नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक तथा हवाइ सेवा प्राधिकरण विधेयक फिर्ता गराउन माग गर्दै प्राधिकरणमा क्रियाशील कर्मचारीहरुले आन्दोलन घोषणा गरेका छन्।
उल्लेखित विधेयकहरु राष्ट्रिय हित प्रतिकूल रहेको तथा उड्डयन सुरक्षामा गम्भिर प्रश्न उठ्न सक्ने देखिएकाले तत्काल फिर्ता गर्न उनीहरुले माग गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाइ सेवालाई महँगो बनाउने गरी विधेयक ल्याइएको उनीहरुको आरोप छ।
‘पर्यटन मन्त्रालयकै जिम्मेवारीमा रहेको दूर्घटना जाँच कार्यलाई तटस्थ एवं पारदर्शी बनाउन स्वतन्त्र दूर्घटना जाँच आयोग गठन गर्नुपर्नेमा प्राधिकरणलाई नै टुक्राएर निहित स्वार्थ समुहको उद्देश्य पूरा गर्न प्रोत्साहन गर्ने मनसाय देखिएको छ,' ज्ञापन पत्रमा भनिएको छ।
उनीहरुले आजदेखि आन्दोलन थालेका हुन्। २७ गतेसम्म प्रत्येक दिन बिहान दश बजेदखि दिउँसो एक बजेसम्म पेन डाउन गर्ने उनीहरुको कार्यक्रम छ।
१२ बजेदेखि एक बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशक लगायत कार्यकक्षमा तालाबन्दी गर्ने युनियनहरुले जनाएका छन्। उल्लेखित विरोधका कार्यक्रमपछि पनि विधेयक फिर्ता नभए दोस्रो चरणको कडा आन्दोलन गर्ने युनियनहरुले घोषणा गरेका छन्।