नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुबारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुबारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो ।
प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरू उत्पादन हुनेछन् । साढे १४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ ।
आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाइ हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो । उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए । प्लान्टबाट उत्पादित पोलहरू मुख्य रूपमा प्रदेश नं १ र र २का जिल्लाहरूमा आपूर्ति गरिने छ ।
प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कङ्क्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ । रासस