पूर्ण रुपमा व्यवसायिक उत्पादनको समयावधि लम्बिँदै जाँदा माथिल्लो तामाकोसीको ऋण भने बढेको बढ्यै छ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले तिर्नुपर्ने दायित्व ७७ अर्ब ७७ करोड पुगेको छ।
जसमध्ये लामो अवधिको ऋण रकम ४० अर्ब ५८ करोड रुपैयाँ छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम लगायतबाट कम्पनीले यो ऋण लिएको हो। सो ऋणवापत लागेको ब्याज रकम ३० अर्ब २४ करोड पुगेको छ। अन्य ऋण १ अर्ब २ करोड छ।
छोटो अवधिका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण ३ अर्ब ८० करोड छ। सोको ब्याज र विभिन्न संघसंस्थालाई अरु भुक्तानी गर्नुपर्ने बाँकी रकम २ अर्ब १० करोड छ।
कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ सेयर जारी गरेर रकम जुटाएको थियो। योसहित जोड्दा आयोजनाको लागत ८८ अर्ब नाघेको छ।
गत आर्थिक वर्ष २०७७/८८ मा मात्रै कम्पनीको नोक्सानी ४ करोड १६ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी ०.३९ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १४ पैसा छ।
गत असार २१ गते बिजुली उत्पादनको उद्घाटन गरिए पनि पूर्ण रुपमा व्यवसायिक उत्पादन हुन सकेको छैन। भदौ महिनाभित्र ६ वटै युनिटबाट विद्युतको व्यवसायिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले ६ वटै युनिटबाट भदौ मसान्तसम्म व्यवसायिक उत्पादन हुने दावी गरे।
सेतोपाटीसँग कुराकानी गर्दै न्यौपानेले भने ‘हाल चार वटा युनिटबाट प्रशारण नै भइरहेको छ, पाँचौं युनिटको अहिले परीक्षण भइरहेको छ, भदौ पहिलो साताभित्र त्यो सम्पन्न भई अन्तिमसम्मा अर्को युनिटबाट समेत विद्युत प्रशारणमा गइसक्नेछ।’
अहिले तीन वटा युनिटले व्यवसायिक आम्दानी नै थालेको उनले बताए। ‘तीन युनिटबाट उत्पादन हुने बिजुलीको आम्दानी गणना सुरु भइसक्यो, भदौको पहिलो हप्ताबाट अर्को युनिटको पनि आम्दानी सुरु हुन्छ।’ परीक्षण सफल भएको १५ दिनपछि मात्रै व्यवसायिक उत्पादन गणना सुरु हुन्छ।
कुल ६ वटा युनिट रहने आयोजनामा एउटाको क्षमता ७६ मेगावाटसम्म रहन्छ। हाल भने ४ वटा युनिटबाट ३ सय मेगावाटको हाराहारीमा उत्पादन भएको उनले बताए।
आयोजनामा ढिलाई हुँदा लागत बढेको कम्पनीले स्पष्ट पारेको छ। २०७२ को भूकम्प, लट २ ठेकेदारीको जिम्मेवारीमा रहेको हाइड्रोमेकानिकल काममा भएको ढिलासुस्ती, कोभिड १९ को महामारी लगायत विविध कारणले गर्दा आयोजना निर्माण सम्पन्न गर्ने समय बढ्दा त्यस अवधिको ब्याज, नेपाली मुद्रा अवमूल्यनको व्ययभार, प्रशासनिक खर्च बढ्न गई लागत बढेको कम्पनीले प्रष्ट्याएको छ।
पछिल्लो समय जलविद्युत कम्पनीहरुलाई राष्ट्र बैंकले एउटा सहुलियत दिएको छ। यस्ता आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर जारी गरेर रकम उठाउन सक्ने छन् र सो रकम बैंकको ऋण तिर्न प्रयोग गर्न सक्नेछन्।
कुल लागतमा जम्मा १२ प्रतिशत मात्रै सर्वसाधारणलाई सेयर जारी गरेकाले यस आयोजनाले पनि हकप्रद जारी गरी सेयर पुँजी बढाउन सक्नेछ। त्यहीं पैसाले बैंकको ऋण घटाउन सक्नेछ। यसले आगामी दिनमा ब्याजमा पर्ने भार पनि कम हुनेछ।
माथिल्लो तामाकोसी कम्पनीको सेयर मूल्य आइतबारसम्म प्रतिकित्ता ८२० रुपैयाँ छ। गत बुधबार कम्पनीको मूल्य सबैभन्दा धेरै ९०४ रुपैयाँसम्म पुगेको थियो। आज एकै दिन कम्पनीको मूल्य प्रतिकित्ता ५३ रुपैयाँले घटेको हो।