अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सरकार तयार रहेको बताएका छन्। नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री शर्माले सो बताएका हुन्।
‘मेक इन नेपालको नारा गहन र महत्वपूर्ण छ,’ उनले भने, ‘अब तपाईंहरूले पनि उद्योगमा लगानी वृद्धि गर्नुस्। सहजीकरणका लागि सरकार तयार छ।’
उनले राजस्वको दीगो आधार तयार गर्न उद्योगको विकास हुनुपर्ने भएकाले लगानी बढाउनुपर्ने जोड दिए।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई उत्पादनशील अर्थतन्त्रमा रुपान्तरण गर्न आफूहरुले मेक इन नेपाल अभियानलाई अघि बढाएको बताए। उनले सो अभियानको सफलताका लागि नीतिगत सुधारको आबश्यकता औँल्याए।
जसका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे।
अध्यक्ष अग्रवालले उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको विवादमा अल्झिरहनु परेको भन्दै उक्त समस्या समाधानका लागि आग्रह गरे।
जवाफमा अर्थमन्त्री शर्माले विद्युत सुविधा उपभोग गरेका उद्योगले महसुल तिर्नुपर्ने र सुविधा नपाएका उद्योगलाई महसुल नलाग्ने प्रष्ट पारे।
परिसंघले नवप्रवर्तन व्यवसाय एवं साना र मझौला व्यवसाय प्रवद्र्धनमा सुविधा दिनुपर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि स्वदेशमै पर्याप्त उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने, स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने मापदण्ड र गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्ने सुझाव सरकारलाई दिएको छ।
यसैगरी विदेशी मुद्रा आर्जन हुने सम्पूर्ण निकासीमा वस्तुको मूल्य अभिवृद्धिका आधारमा निर्यातमा नगद अनुदान कायम गरिनुपर्ने, संस्थागत सामाजिक उत्तदायित्वको खर्चकट्टी सुविधा दिनुपर्ने, कृषिमा आत्मनिर्भर हुने गरी १० वर्षका लागि कृषि उद्यमको आयमा लाग्ने कर पूर्ण छुट दिनुपर्ने र व्यवसायिक कृषिका लागि जग्गाको हदबन्दीमा छुट दिइनुपर्ने सुझावसमेत दिएको छ।