नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहहरुले इन्टरनेट सेवा प्रवाहका लागि प्रयोग भएका तार (फाइबर) काटेकोभन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ।
दूरसञ्चारका उपकरणहरुमा समेत क्षति पुर्याएर नियन्त्रणमा लिई इन्टरनेट सेवा नै अवरुद्ध गराएको संघले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको हो।
पोल भाडादरबारे उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्रधिकरण तथा विद्युत प्राधिकरण केन्द्रीय कार्यलयसँग छलफल भइरहेको बेलामा निन्दनीय कार्य भएको संघको आरोप छ।
इन्टरनेट सेवा प्रदायक संस्थाका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरी तार हटाउन भनिएकाले उक्त घटनाको ध्यानाकर्षण गराएको संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
‘दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर र उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद (१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सम्बन्धित निकायहरुलाई जानकारी गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।