रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका दस जना उद्यमीले जनही एक/एक लाख रूपैयाँ नगदसहितको उद्यमशीलता तथा नवप्रवर्तन कोष अवार्ड पाएका छन्।
नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डि.पी.) को साझेदारीमा सञ्चालित कोभिड-१९ उद्धार र सामाजिक-आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत उनीहरूले उक्त अवार्ड प्राप्त गरेका हुन्।
कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणको लागि तिलोत्तमा नगरपालिकामा कोभिड-१९ उद्धार र सामाजिक-आर्थिक प्रतिकार्य परियोजना सञ्चालनमा छ।
उद्यमशीलतामा लागेका युवाहरूलाई प्रवर्द्धन गर्न एक लाख पुरस्कार राशीको अवार्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले २०७७ कात्तिक २८ गते अवार्डको लागि प्रस्ताव आह्वान गरेको थियो।
उक्त प्रस्ताव आह्वानमा सहभागीमध्ये प्रारम्भिक चरणमा १७ वटा प्रस्ताव छनोट गरिएको र उनीहरूले पेश गरेको आफ्नो व्यवसायिक योजनासहितको प्रस्तुतीको मूल्यांकनबाट दस उद्यमी अवार्डको लागि छनोट गरिएको नगरपालिकाका शाखा अधिकृत माधव पोखरेलले जानकारी दिए।
अवार्ड प्राप्त गर्ने उद्यमीहरूमा तिलोत्तमा एग्रो फर्मका ईश्वरी ज्ञवाली, द प्लान्ट स्टेसनका समिर ज्ञवाली, सफल सवारी सेवा प्रालिका रोशन खनाल, माई सिभीका सौरभ खनाल, तु-सेवाका रमेश ढकाल, वेवरी तरकारी उत्पादक कृषक समूह, अनलाइन ग्रोसरीका सिजन अर्याल, कुखुरापालन व्यवसायी दुर्गाकुमारी राना, मिट मार्टका तेजराज थापा, इन्नोभेटिभ इम्प्लोयमेन्ट एण्ड कन्सल्टेन्टका कुशल डुम्रे रहेका छन्।
छनोटमा परेका उद्यमीले प्रतिप्रस्ताव एक लाख रूपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, नगरपालिका कार्यालयबाट व्यवसाय दर्ता, तालिम, सहुलियत कर्जा, नियमित परामर्श, यान्त्रीकरण र बजारीकरण लगायतका विषयमा सहयोग प्रदान गरिने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख बासुदेव घिमिरेले युवाहरूलाई व्यवसायमा जोड्दै रोजगारीका अवसर बढाउँदै लैजाने नीतिअनुरूप नगरपालिकामा उद्यमशीलता तथा नवप्रवर्तन कोष स्थापना गरिएको बताए।
उनले नवउद्यमीहरूको सहजीकरणको लागि नगरपालिकाले छुट्टै शाखा स्थापना गर्न तयारी गरेको समेत बताए।
नगरपालिकाले युवाहरूमा उद्यमशीलताको विकास गराउन विनाधितो ऋणदेखि विभिन्न तालीमको निःशुल्क व्यवस्था मिलाउँदै आएको छ।