ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकी छन्।
पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन्।
सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराए।
उनले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेसनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराए।
उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताए।
बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस काठमाडौं आइपुग्ने जानकारी गराए।
चरणबद्धरूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन्। उनले पहिलो चरणमा ललितपुर र काठमाडौं महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गरिन्।
उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन्।
उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन्। रासस