गत मंगलबार रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा एक हुल मानिसहरू पसे। उनीहरू बाजागाजा बजाउँदै कार्यालयमा गएका थिए।
ती बाजा बजाउनेहरू काठमाडौं उपत्यकाका भित्रका थिएनन्। सयौं किलोमिटर टाढाको जुम्लाबाट आएका थिए। आफ्नो जिल्लामा छिटो बिजुली आउन पर्यो भन्ने माग राखेर उनीहरू बाजा बोकेरै जुम्लाबाट काठमाडौं आएका थिए। यो कामको नेतृत्व गरेका थिए, जुम्लाका सांसद गजेन्द्र महतले।
गत साउनमा जुम्लामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको थियो। ३३ केभिएको प्रसारण लाइन भए पनि अहिले जुम्लामा ११ केभी बिजुली आपूर्ति भइरहेको छ।
आफ्नो जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि बिजुली बाल्न पाइने आश हुनु स्वभाविक हो।
घर-घरमा बिजुली बाल्न राष्ट्रिय प्रसारण लाइन पुगेरमात्र भएन, तार तान्नु पर्यो, पोल गाड्नु पर्यो, ट्रान्सफर्मर राख्नुपर्यो, घरघरमा मिटर जोड्नु पर्यो।
‘दसैं-तिहारमा घर जाँदा मलाई धेरै जनताले माननीयज्यू सय वर्षपछि बिजुली आयो तर हामीले बत्ती बाल्न पाएनौं भनेर सुनाए,’ सांसद महतले सेतोपाटीसँग भने,‘मैले प्राधिकरणको जुम्ला कार्यालयमा कुरा गरें। त्यहाँ कर्मचारी अभाव छ, सवारी साधन छैन। जनतालाई दिन मिटर छैन।’
त्यसपछि आफूले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्पर्क गरेको महतले बताए।
‘सुरूमा मैले उहाँलाई भेट्न फोन गरेको थिएँ। उहाँले फोनमै कुरा गरौं भन्नुभयो। मैले उहाँलाई सबै कुरा सुनाएँ तर सुनुवाइ भएन,’ महतले भने,‘अनि हामी बाजागाजासहित आएर उहाँलाई ज्ञापन पत्र बुझाउन गएका हौं।’
जुम्लामा कसैलाई केही कुरा सुनाउनु छ भने उसको घरमा बाजा बजाउने चलन छ।
‘कुनै व्यक्तिले भनेको सुन्दै सुनेन भने बाजागाजा ल्याउने हाम्रो चलन छ, त्यही चलनअनुसार प्राधिकरणमा गएका हौं,’ महतले भने।
प्राधिकरणका निर्देशक घिसिङ भने कर्णालीमा विद्युतीकरणको काम निकै रफ्तारमा भइरहेको बताउँछन्।
केही महिनाअघिमात्रै कर्णाली र सुदूरपश्चिममा सत प्रतिशत विद्युतीकरण गर्न २५ अर्बको प्रोजेक्ट पारित भएको उनले जानकारी दिए।
उक्त प्रोजेक्टका लागि युरोपियन इन्भेस्टमेन्ट बैंक र एसियाली इन्फ्रास्ट्रक्चर बैंकको सहुलियतपूर्ण ऋण दिएका छन्।
‘आगामी तीन वर्षभित्र यो प्रोजेक्ट सकिन्छ। विकट भूगोल भएकाले कामले गति लिन समस्या लागेको छ,’ घिसिङले भने,‘उहाँहरूले भनेजस्तो हामीले सुन्दै नसुनेको होइन। हामी कर्णालीमा गुणस्तरीय बिजुली दिन काम गरिरहेका छौं।’