उपत्यका भित्रका नगरप्रमुखहरुले सडक विस्तारको कार्यलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उपत्यका विकास प्राधिकरणले हाल विस्तार भइरहेको सडक विस्तार कार्यलाई कहिँ कतै अवरोध नगर्ने प्रतिबद्धता जनाएका प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।
यसअघि व्यवस्थापिका संसदमा निर्वाचित प्रतिनिधिहरुले नै सडक विस्तारमा असहयोग तथा अवरोध गरेका थिए। त्यहीबाट झस्किएको प्राधिकरणले स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई संयुक्त रुपमा राखेर सहयोग मागेको थियो।
केही सामन्य कुरामा असहमति जनाएपनि समग्रमा विकास निर्माणमा सहयोग गर्ने बाचा गरेको तिवारीले जानकारी दिए।
‘उहाँहरुले विकासको बाचा गरेर नै निर्वाचित भएको भन्दै सदैव सहयोग गर्ने बताउनु भएको छ’ उनले भने,‘क्षतिपूर्ति केही कम भएको भन्ने कुरा उहाँहरुले राख्नुभएको थियो।’
क्षतिपूर्ति लगायतका विषयमा आफूहरु परिमार्जन गर्न तयार रहेको उनले जानकारी दिए। अहिलेसम्म उपत्यकाभित्र ३ सय ३० किलोमिटर सडक विस्तार भइसकेको र १ सय ५० किलोमिटर सडक फराकिलो हुने क्रममा रहेको तिवारीले जानकारी दिए। केही ठाउँमा अदालतले काम रोक्न आदेश दिएकोले केही ढिला भएको बाहेक अन्यत्र तीव्र गतिमा विस्तारको काम भइरहेको तिवारीको भनाइ छ।
प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सबै तहका प्रतिनिधिहरुलाई राखेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। पूर्वाधार निर्माण विकासको मेरुदण्ड भएको भन्दै यसमा कसैले पनि विरोध गर्ने बताएका थिए।
निर्वाचनको समयमा प्रतिनिधिहरुले घर भत्काउन नदिने, भत्काएपनि मुआब्जाको प्रशस्त व्यवस्था गर्ने बाचासहित भोट मागेका थिए। यही कारणबाट उपत्यकामा सडक विस्तार कार्य रोकिने आशंका गरिएको थियो।