त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तार कार्य तत्काल सम्पन्न गर्न संसदको विकास समितिले सरकारलार्य निर्देशन दिएको छ। समितिले उपत्यका भित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
व्यवस्थापिका संसद विकास समितिको मंगलबार बसेको बैठकले उपत्यका भित्रका सडकहरुको तत्काल विस्तार गर्न र विजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिना भित्र दुरुस्त बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई निर्देश दिएको हो । राजमार्गको सडक विकास एव्म विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत गराउने निर्णय समितिले गरेको छ।
त्रिपुरेश्वर–नागढुङ्गा सडक खण्ड विस्तारका लागि घर÷जग्गाको मुआब्जासम्बन्धि समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको समितिका सभापति अधिकारीले बताए। समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।
विकास समितिले मुग्लिन–नारायणगढ सडक यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि सक्न पनि सरकारलाई पुन निर्देशन दिएको छ । बैठकमा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाईकाजी तिवारीले मुआब्जा वितरणका लागि बजेट अभाव हुँदा त्रिपुरेश्वर–कलंकी–नाकढुंगा सडक खण्ड विस्तारको काम अघि बढन नसकेको स्पष्ट पारे। उनले सडक विस्तार गर्ने भनिएपनि सो अनुसार स्रोत र साधनको अभाव रहेको उल्लेख गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने काठमाडौं उपत्यका भित्रको सडक विस्तारको काम आफनो कार्यक्षेत्र भित्र नपर्ने बताउँदै आएको छ ।