नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको टोलीले बेनी जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको स्याङखोलामा अस्थायी पुल निर्माण गरेको छ।
उत्तर दक्षिण व्यापारिक मार्गका रुपमा रहेको कालिगण्डकी करिडोर बेनी—जोमसोम सडकखण्ड अन्तर्गत रहेको मुस्ताङको साविक मार्फा गाविस स्याङखोला बगरमा अस्थायी पुल निर्माण गरिएको हो।
वर्षायामको बाढीले बिगत एकसाता अघिदेखि उक्त स्थानमा सवारी आवागमन प्रभावित बन्दै आएको थियो। खोलाको बाढीले सडक अवरुद्ध बनेपछि यातायातका सवारी साधन र सर्वसाधारण यात्रुले सास्ती व्यवहोर्नु परेको थियो। स्याङ खोला मोटरेबल पुलका ठेकेदार प्रेमप्रसाद तुलाचनको पहलमा अस्थायी पुल निर्माण गरिएको हो।
पश्चिमतर्फको स्याङ गाउँको लेकबाट बग्ने खोलाको बाढीले वर्षेनि वर्षायामको मौसममा सवारी आवागमनमा अवरोध गर्ने गरेको ठेकेदार प्रेम प्रसाद तुलाचनको भनाई छ।
आयोजनाका ईन्जिनियर जगत प्रजापतीले म्याग्दीको बेगखोला र मार्फाको राजखोलामा समेत अस्थायी पूल राखेर सडक सुचारु गरिएको बताए। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले मुस्ताङ आउने पर्यटकलाई पुल निर्माणसँगै सहज भएको बताए।