विस्तृत अध्ययन प्रतिवेदन स्वीकृत भएर काम अगाडि बढ्ने तरखरमा रहेको बाहिरी चक्रपथको पाइलट प्राजेक्टको डिजाइनमै वर्तमान सहरी विकास मन्त्री प्रभु साहले असन्तुष्टि जनाएका छन्। सतुगंलदेखि चोर खण्डमा निर्माण हुने भनिएको पाइलट आयोजनाको चौडाइको बारेमा गुनासो आइरहेको भन्दै मन्त्रीले परिमार्जन गर्ने संकेत गरेका छन्।
हाल चक्रपथको भन्दा पनि कम चौडाइको सडक निर्माण हुने भएकोले त्यसले दीर्घकालिन समस्या समाधानतर्फ चौतर्फी आशंका भइरहेकोले पाइलट आयोजनाको काम केही समयलाई होल्डमा रहेको मन्त्री साहले जानकारी दिए।
हालको चक्रपथको चौडाई ६२ मिटर रहेको छ भने बाहिरी चक्रपथ ५० मिटरको बन्ने छ।
सतुंगल चोभार खण्डको स्थलगत निरीक्षणको क्रमा मन्त्री साहले जग्गा अधिकरण, सडकको आकारको बारेमा बृहत छलफल भइरहेको भन्दै साउनभित्रै आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
‘सहरी यातायातलाई सहज, सुगम बनाउको लागि ल्याइएको यो आयोजना ढिला भन्ने भन्दा पनि सकेसम्म छिटो बढाउनेतिर हाम्रो ध्यान छ’ निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री साहले भने,‘उपत्यका विकास प्राधिकरणले यसको काम अगाडि बढाइरहेको छ, अबको केही समयभित्रै भौतिक प्रगति पनि देखिन्छ।’
चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) यसअघि नै स्वीकृत भएको थियो। डिपिआर पारित भएर जग्गा प्राप्तीको प्रक्रिया समेत सुरु भइसकेको छ। डिपिआरमा ल्यान्ड पुलिङको माध्यमबाट जग्गा प्राप्ति तथा व्यवस्थापन गर्ने, ब्लक योजना बनाउने जस्ता व्यवस्था गरिएको छ।
तर मन्त्री साह भने जग्गा अधिग्राहनको मोडल, मुआब्जा र सडको चौडाईको बारेमा समेत थप अध्ययन आवस्यक भएको बताउछन्।
कुल ७३ किलोमिटर लामो बाह्य चक्रपथ खण्ड–खण्डमा निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण हुने तिवारीले जानकारी दिए । यो खण्ड साढे ६ किलोमिटर लामो हुनेछ। कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाभित्र पर्ने ठाउँहरू बाह्य चक्रपथको यो खण्डले समेट्नेछ।
सडकको लागि आवश्यक पर्ने सबै जग्गा एकीकरण गरेर सडक बनाउने र सडकको वरीपरी घडेरी वा टाउनप्लानिङ गरेर सम्बन्धित धनीहरुलाई अनुपातिकरुपमा प्राधिकरणले जग्गा वितरण गर्ने प्राधिकरणले यसअघि योजना बनाएको थियो।
यो खण्डमा ८ हजार ९ सय रोपनी जग्गामा १३ हजार ७ सय कित्ता जमिन प्रभावित हुने छ।
आव २०६०÷६१ देखि नै निरन्तर बजेट विनियोजन हुँदै आएको थियो। जग्गा अधिकरणलाई लिएर ठाउँ–ठाउँमा स्थानीयको विरोधका कारण निर्माण सुरु हुन सकेको थिएन। उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालन हुने यो आयोजना एकैपटक निर्माण गर्न सम्भव नदेखिएपछि खण्ड–खण्डमा अघि बढाउने निर्णय भएको अधिकारीहरुको भनाइ छ।
प्रारम्भिक योजनाअनुसार बाह्य चक्रपथ काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ। यसैमध्ये पहिलो चरणमा काठमाडौंमा पर्ने सतुंगल–चोभार खण्ड निर्माण हुन लागेको हो।
यसबाहेक अन्य खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार हुन बाँकी छ। त्यस आधारमा बाह्य चक्रपथको स्वरुप प्रारम्भिक योजनाभन्दा फरक पनि हुन सक्छ।
अहिलेसम्मको योजनाअनुसार काठमाडौंमा बाह्य चक्रपथले ओगट्ने क्षेत्रमा चोभार, गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी छन्। ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै चोभारसम्म जानेछ।
त्यस्तै, भक्तपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोटलाई पनि बाह्य चक्रपथले समेट्नेछ। पचास मिटर चौडा हुने बाह्य चक्रपथ आठ लेनको हुनेछ। यसमा साइकल लेनको पनि छुट्टै व्यवस्था हुनेछ। बाहिरी चक्रपथको दायाँबायाँ ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गर्ने योजना यसअघि नै घोषणा गरिएको थियो।
यसअघि आव २०६५÷६६ मै सतुंगल–चोभार खण्डको निर्माण थालनी गर्ने भनिए पनि स्थानीयको विरोधले रोकिएको थियो। खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने स्थानीयको माग थियो। प्राधिकरणले ‘ल्याण्ड पुलिङ’ को अवधारणाबाट प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र बसोबास गराउने योजना ल्याएर सबैको सहमतिमै आयोजना सुरु गर्ने जानकारी दिएको छ।