पोखरा बस व्यवसायी समितिले शुक्रबार साँझदेखि पोखरा–लेखनाथ महानगरपालिकामा सन्ध्याकालीन बस सेवा शुरु गरेको छ।
रातिसम्म महानगरवासीलाई सेवा दिने उद्देश्यले सन्ध्याकालीन बस सेवा शुरु गरिएको समितिका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए। समितिले हाललाई दुई बाटाबाट सेवा शुरु गरेको हो ।
पहिलोमा हल्लनचोक–बाराहीचोक–राष्ट्र बैंकचोक–बिरौटा–एयरपोर्ट–लखनचोक–भीमसेनचोक–नदीपुर हुँदै बगरसम्म तथा दोस्रो बाटामा जिरो किलोमिटर–सिर्जनाचोक–सभागृहचोक–चिप्लेढुंगा– हस्पिटल–माटेपानी हुँदै काहुँखोला जाने बाटो तय भएको छ।
सेवाग्राहीको माग बढ्दै गएमा थप बाटो पनि थप्दै जाने बताइएको छ। अहिले साँझसम्म मात्रै बस चल्दै आएकामा समय बढाएर राति ९ बजेसम्म सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए।
सन्ध्याकालीन सेवाका लागि समितिले हाल आठ बस सञ्चालनमा ल्याएको छ। महानगरका ३३ वटै वडामा समितिले अहिले ३७८ वटा सुविधासम्पन्न नगर बस सञ्चालन गर्दै आएको छ । रासस