सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजनाहरु छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण अयोजनाको छानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ ।
सुक्रबार सहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गरी रुग्ण आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्सिय छानविन समिति गठन गरेको छ ।
समितिले मन्त्रालय मातहत देशैभरी सञ्चालित आयोजनाहरुको प्रोजेक्ट स्टाटस माग गर्ने, रुग्ण आयोजनाहरुको पहिचान गर्ने र फाइल झिकाई अध्ययन गर्ने, निर्माण व्यवसायी, कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो, पहिचान गर्नेछ ।
त्यसैगरी आवश्यकताअनुसार निर्माण व्यवसायी एवं सम्बद्ध कर्मचारी संग मौखिक वा लिखित बयान लिने, कमी कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गर्ने र रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमी बारे सिफारिस गर्नेछ । श्रेष्ठको अध्यक्षतामा गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।
आफूहरुले छानविनका लागि छानविन गर्न खोजेको नभई आयोजनाहरुलाई गति दिन चाहेको सहरी विकास मन्त्री प्रभु साहले बताए।
‘हामीले छानविनका लागि छानविन गर्न खोजेका होइनौं’ मन्त्री साहले भने,‘छानविनले दोषी देखाएकाहरुलाई कारवाही गर्दछौं ।’ उनले यसरी दोषीहरुलाई कारबाही गरेपछि आगामी दिनमा यी र यस्ता आयोजनाहरुको प्रगतिमा सुधार आउने विश्वास व्यक्त गरे।