नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता १६ करोड दुई हजार पुगेको छ ।
सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको एक लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको १० हजार र अन्य सरकारी कार्यालयको तीन लाख ६८ हजार रहेको छ । कार्यालयले आव २०७३÷७४ मा विद्युत् महशुल एक अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।
सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु दुई करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ । रासस