आमा ममताको खानी ...
आमा जननी,
आमा संसार देखाउने दाता,
आमा धर्तीमाता,
आमा सबभन्दा पुजनीय,
आफू रोएर सन्तान हँसाउने,
आफू भोकै बसेर सन्तानलाई खुवाउने,
आफू पीडामा रहे पनि सन्तानको खुसी देख्न चाहने, सबै बोझ आफूले बोकेर सन्तानलाई खुसी देख्न चाहने आमा।
सायद यस्तैयस्तै पर्यायका कारण विश्वमै आमाका नाममा धेरै गीत गाइए, कथा, उपन्यास लेखिए, नाटक मन्चन गरिए।
आमा हरेक सन्तानको लागि सबभन्दा प्रिय शब्द हो। आमा बिना कुनै पनि सन्तानको जीवन सम्भव छैन र त आमालाई साक्षात भगवानकै रूपमा लिइन्छ। आमा हरेक सन्तानको लागि जीवित देवता हुन्। जबसम्म छोराछोरीलाई आमाको साथ हुन्छ, तबसम्म सन्तानले कहिल्यै पनि असुरक्षित महशुस गर्दैन। आमाको गर्भदेखि जोडिएको नाता आमाको प्राण पखेरु हुन्जेलसम्म सन्तानको लागि उतिकै ममतामयी हुन्छ।
यति पवित्र नाता भएका आमाले किन हार मान्छन् होला? आमाले त जस्तोसुकै चुनौती र व्यवधान पनि सहन सक्छन तर कतिपय आमाहरू किन सहनशील हुदैनन्? किन आमाले धैर्यता गुमाउँछन्? सन्तानलाई किन आफूसँगै मृत्युको मुखमा धकेल्छन् आमाले? आमा धर्तीमाता हुन् तर तिनै धर्तीमाता डगमगाए भने ....संसार कस्तो होला? आमाको सहनशिलता किन कमजोर भएको छ? आमा साँच्चिकै आमा हुन् भने हरेक चुनौतीसँग डटेर सामना गर्ने हिम्मत गर्छन् कायरता प्रकट गर्दैनन्।
मैले मेरी आमालाई सम्झन्छु, आफूलाई भाग्यमानी ठान्छु। आमाको आत्मबल र अठोटका कारण ७ वर्षसम्म पनि बुवाको अभाव हुन दिनुभएको छैन।
मेरी आमाको ठाउँमा कमजोर मुटु भएका अरु कोही आमा हुन्थे भने ...सायद बुवाआमाको एउटै चिता बन्थ्यो तर मेरी आमाले हठातको निर्णय गर्नुभएन।
‘म मर्न खोजें तर छोराछोरी सम्झेर हिम्मत बटुलें’ आमाको यही वचन आफ्नो लागि अमृत वाणी जस्तै बन्यो।
आधा घण्टाअघि सँगै बसेर खाजा खाएको बुवा आधा घण्टापछि आमाले घर गोठधन्दा सकाउन नपाउँदै मृत्युशय्यामा पुगिसक्नु भएछ।
बुवाको त्यो हालत देख्दा पनि आमाको होस गुमेन, झमक्क साँझ परिसक्दा अँध्यारोको प्रवाह नगरी एक्ली आमाले छिमेकीसँग हारगुहार गर्नुभयो, बुवालाई बचाउन हर सम्भव प्रयास गर्नुभयो तर दैवले जित्यो आमाको प्रयास विफल भयो तै आमाको होस गुमेन।
५० वर्ष पनि नपुगेको बुवा कुनै रोगव्यथाले नथल्लिइकन एक्कासी हामीलाई टुहुरो बनाएर सदाको लागि अस्ताउनुभयो। त्यो बेलामा म आफूलाई पनि बाँच्न मन नलागेजस्तै हुन्थ्यो।
यत्रो दु:ख गरेको बुवाले के पाउनु भयो? आखिर जिन्दगी के रहेछ र ? किन बाँच्नु ? बुवा त जानुभयो आफू किन बाच्नु ? यस्तै निराशामात्रै मनमा आउँथ्यो।
सधैं रातो पहिरनमा चिटिक्क पर्ने आमा सेतो कपडामा बेरिएर कुनो बारेर बस्नुभएको थियो। हामी छोराछोरी रुँदा आमाले सम्झाउनुहुन्थ्यो, म त ज्यान फाल्न सकिनँ, तिमीहरू सम्झेर बाँचें ,मेरो को छ र? सन्तान छन् भनेर म बाँचें भने तिमीहरूको लागि म छु , किन रुन्छौ?
आमाको यो बोली आफ्नो लागि यति ऊर्जाको शक्ति बन्यो कि म कहिल्यै त्यसको मूल्य न चुकाउन सक्छु न नै बताउन। सँगै मर्ने बाँच्ने कसम खाएर लगनगाँठो कसेको हो सँगै मर्छु भनेर आमाले अप्रिय निर्णय गरेको भए ?...तर आमाले यस्तो गर्नुभएन।
बुवाको वियोगमा तड्पिएकी आमाले सन्तानको लागि आफ्नो मन कति अमिलो बनाएर यो वाक्य भन्नु भएको होला अहिले सम्झँदा म साँच्चिकै आमालाई भगवानकै रूप ठान्छु।
साँच्चिकै आमाले अब हाम्रो कोही छैन, के आधारमा जिउने ? किन बाँच्ने ? यस्तै निराशाजनक कुरा गरेको भए सन्तानको मनले सायद आमालाई नै साथ दिन्थ्यो होला तर मेरी साहसी आमाले सन्तानको सामू कहिल्यै पनि निराशा बाहिर ल्याउनु भएन। सायद यही सत्यलाई व्यवहारमा भन्ने गरिन्छ, बुवा गुमाउँदा सन्तान सुरा हुन्छन् तर आमा गुमाएपछि मात्रै सन्तान टुहुरा हुन्छन रे।
बुवा गुमाएपछि पीडासँगै व्यवहारको बोझ सन्तानले भोग्नुपर्ने भएकोले सुरो अर्थात् आँटिलो बन्नुपर्ने बाध्यता आइलाग्छ तर आमा हुन्जेल सन्तान टुहुरो हुँदैनन्। भौतिक रूपमा बुवा साथमा नभए पनि आमाले बुवा आमाको भूमिका निर्वाह गर्दै आउनु भएको छ।
मेरी आमा जस्तै सबै आमाहरू किन हिम्मतिला हुँदैनन्? आमाले किन हतारमा निर्णय गर्छन्? आमाले आमा हुनुको मूल्य किन हल्का ठान्छन्?
पुसको ठन्डी भर्खर सकिएको थियो। माघको घमाइलो छाउँदै थियो, जिन्दगीमा पहिलोपटक मुखमा माम खान पाउने सौभाग्य जुरेको अवोध शिशु र उसको निर्दोष दाजुले आमाको अधैर्यताका कारण बाँकी संसार देख्न पाएनन्।
कुनै भवितव्य वा आततायी दुर्घटनामा परेर होइन जानीबुझीकन, घरसल्लाह गरेर बाउआमाको गलत निर्णयका कारण निर्दोष बच्चाले सौभाग्यले देख्न पाएको संसार पूरै देख्न पाएनन्।
मामाघरमा जान पाएकोमा खुसी भएको ठूलो छोरा, आमाको न्यायो काखमा टुलपुटिएको छ महिने सानो छोरालाई के थाहा आफ्नै बाबुआमा आफ्ना दुश्मन हुन्, हत्यारा हुन् भन्ने कुरा।
केही दिनअघि काठमाडौं चन्द्रागिरी नगरपालिका–४ थानकोटका शिक्षित परिवारका बौद्धिक व्यक्ति विनय लामिछानेको परिवारका ४ जना सामूहिक आत्महत्याका लागि त्रिशूली नदीमा हेलिएको घटना साँच्चिकै कारुणिक थियो।
दुई नाबालक छोरा र श्रीमतीको मृत्यु भए पनि श्रीमानको जीवितै उद्धार भयो। सात/आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएका विनय चर्को ऋणमा डुबेपछि जिन्दगीदेखि हार मान्दै मृत्युको बाटो रोजेका थिए। प्रहरीसँगको बयानमा विनयले आठ/दस दिनअघि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्या गर्ने योजना अनुरूप आफूहरू त्रिशुलीमा हेलिएको जानकारी दिए।
उनले जे भने पनि तीन जना आफन्तको हत्यारा हुन् उनी, पुरुषलाई मर्द भन्छन्, आँटिलो भन्छन् तर उनी त कायर रहेछन्। मिलेको परिवार सिध्याएर ऋणबाट मुक्त पाउन खोज्ने विनयजस्ता अन्य पुरुषले बेलैमा विचार पुराउनु जरुरी छ। थानकोटमा घर, प्राध्यापनको पेशा के कमी थियो? लोभले लाभ हुँदै शोकमा पुर्यायो। आफ्नो हैसियतमा टिक्न नसक्दा, सन्तुष्ट हुन नसक्दा परिवार सखाप भयो।
श्रीमानले आफू ऋणमा डुबेपछि मर्न चाहेको कुरा श्रीमतीलाई बताएका रहेछन् तर श्रीमतीले श्रीमानलाई सम्झाउनुको साटो आफू पनि सँगै मर्ने वाचा गरिन् र उल्टै समर्थन गरिन्।
सँगै मर्ने बाँच्ने वाचा भनेको आत्महत्या गरेर सँगै मर्ने भनिएको होइन। बूढापाकाले भन्थे ऋण नलाग्ने छोरा र प्रसव पीडा नभोगेकी छोरीलाई जिन्दगीको खास अर्थ थाहा हुँदैन।
ऋण लागेर केही हुँदैन तर दीन नलागोस् भन्दै ढाडस दिन्थे। तर यी अवोध बच्चाकी शिक्षित, सहरीया, सचेत आमाले यसो गरिनन्। बाबुआमाको ऋणसँग यी बच्चाको के साइनो थियो?
आमाले नौ महिनासम्म छोरालाई गर्भमा बोक्दाको खुसी, पीडा, बच्चा जन्माउँदो पीडा, पहिलो पटक आमा बन्दाको खुसी, सन्तान हाँस्दा आफूले पाएको आनन्द यी कुरामात्रै मनमा लिएको भए पनि यस्तो अप्रिय निर्णय कसरी गर्न सक्थिन् होला?
बोल्ने भएको छोराले पानीमा डुब्ने बेलामा सोध्यो होला, आमा हामी किन खोलामा जान लागेको? हामी त मामा घर जान लागेको होइन? खोलामा होइन आमा मामा घर जाऔं न। त्यो बच्चाले प्रश्न गरेन होला ? आमाले के जवाफ दिइन् होला?
यदि बच्चाको माया थिएन भने होटलमा आग्रह गरीगरी दूध तताएर किन पिलाउनु? मर्नै मन भए अर्को दिनको पास्नीको लागि लुगा किन किन्नु ? मार्न हिँडेको छोराको लागि चाँदीका बाला किन बनाउनु?
हृदयविदारक त्यो आत्महत्याको तस्बिरले निकै मन पोल्यो। साना दुई छोराको तस्बिर हेरेर ऐंठन परेजस्तै भयो।
झलझली ती छोराको अनुहार सम्झन्छु मुटुको गति नै रोकिएजस्तो हुन्छ। बाउले जे पनि गर्न सक्लान् तर आमाले यसो गर्न कसरी सकिन होला? यो कुराले मन चस्काइरहन्छ।
बच्चा सामान्य बिरामी पर्दा समेत आमा रातभरि जाग्राम बस्दै कतिबेला उज्यालो होला भनेर पुकारा गर्नुपर्छ।
आफ्ना पीडा लुकाएर बच्चाको खुसीको लागि तड्पिन्छन् आमा। जमुना पनि त्यस्तै आमा थिइन्, दुई छोरा हुर्काउन कति रात जाग्राम बसिन् होला, कति छाक खाना नखाइकन छोराको स्याहारमा खटिइन् होला, बच्चालाई खोप लगाउँदा कतिपटक आफैं रोइन् होला तर पनि आफ्नो ममता किन चटक्कै बिर्सेर युवाअवस्थामै अवोध बच्चासहित देहत्याग गरिन्?
आमाको मन त यति कठोर नहुनुपर्ने हो तर कसरी भयो? कुन तत्वले आमाको मनलाई यस्तो अप्रिय निर्णय लिन उक्साउँछ? यी प्रश्नले निकै झस्काइरहन्छ।
केही समयअघिको सवारी दुर्घटनामा थुप्रै यात्रुको निधन भयो। त्यही दुर्घटनामा ज्यान गुमाएकी आमाले गाडीको झ्यालबाट बच्चा बाहिर फालेर बचाइन्। आफ्नो ज्यान जान लाग्दा पनि आमालाई बच्चाको कति माया हुन्छ भन्ने उदाहरण ती आमाले देखाइन्।
भूकम्पमा धेरै आमाहरूले ज्यान गुमाउनुको कारण पनि सन्तानको माया नै बढी देखियो। पुरुषहरू हतारहतार भागे तर आमाहरू आफूभन्दा पनि छोराछोरीको अवस्था खोजी गर्दा धेरैको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो। पोहोर काठमाडौंमै विद्युतीय दुर्घटनामा परी आफ्नै कोठामा ज्यान गुमाएका इन्जिनियर दम्पत्तिले डेढ वर्षे छोरालाई आफू जलिसक्दा पनि जोगाएका थिए। आमाको माया यति कच्चा किन हुन्छ?
घटना १. गत चैतमा भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरे। आत्महत्या गर्नेमा ३२ वर्षीया आमा, १४ वर्षीया छोरी र १२ वर्षीय छोरा थिए। श्रीमान् पुरानो घर भरतपुर कै घुमाउने भन्ने स्थानमा गएको समयमा परिवारका ३ जना सदस्यले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो।
घटना २. गत भदौमा काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरे।
घटना ३. बर्दियाको धधवा–७ का शत्रुधन थारु र १३ वर्षीया शर्मिला चौधरीले विवाह गर्न नपाएको झोंकमा आफ्नो घरभित्रै विष सेवन गरी आत्महत्या गरे। घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका किशोर किशोरीले विष सेवन गरी मृत्युको बाटो रोजे।
घटना ४. भारतको राजधानी दिल्लीमा एकै परिवारका ११ जना र हजारीबागमा एकै परिवारका ६ जनाको सामूहिक आत्महत्या गरे। त्यसलगत्तै झारखण्डको राँचीमा एकै परिवारका ७ जनाले सामूहिक आत्महत्या गरे। मृतक परिवार ऋणमा डुबेको बताइएको छ।
घटना ५. केही समयअघि भारत गुजरातको बनासकान्ठामा आफूहरूलाई श्रीमान् मन नपरेको र घरका मान्छेले समेत आफूलाई वेवास्ता गरेको भन्दै ४ जना महिलाले नर्मदा नहरमा हाम फालेर सामूहिक आत्महत्या गरे।
यी घटना प्रतिनिधि मात्रै हुन्। हामीकहाँ मात्रै होइन छिमेकी देशमा समेत हरेक दिन यस्ता अप्रिय घटनाहरू घटिरहेका हुन्छन्, आखिर किन यस्तो हुन्छ ? आफ्नो हैसियतमा बाँच्न सिकौं, वर्तमानमा जे उपभोग गर्न पाइएको छ, त्यसमै सन्तुष्ट हुन सिकौं।
आफ्नो औकातभन्दा बढी अपेक्षा नगरौं, अर्काको देखासिकी नगरौं, जीवन अमूल्य छ, अमूल्य तरिकाले उपभाग गरौं। आमाले धर्ती बनेर सहन सिकौं, सन्तानलाई आफ्नो कमजोरीको सजाय नदिऊँ। आमाले हार्दै जाने हो, आमाले हिम्मत हार्ने हो भने साँच्चिकै संसार रहला त?