राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले वाम गठबन्धनलाई निर्वाचनमा हराउने गरी तालमेल गरिने बताएका छन्।
वाम गठबन्धन बलियो भएको निर्वाचन क्षेत्रमा लोकतान्त्रिक शक्तिहरु एक भएर निर्वाचन लड्ने शुक्लले दावी गरेका छन्। ‘एक्लै जित्न सक्ने ठाउँमा आफ्नै तरिकाले लड्ने र बराबरी हुने ठाँउमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ,’ शुक्लले सेतोपाटीसँग भने, ‘वाम गठबन्धन बलियो भएको ठाउँमा बलियो पार्टीलाई सहयोग गर्ने सहमति समेत भएको छ।’
नेपाली कांग्रेस–राजपा–फोरम शिर्ष नेतृत्वको क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्नेमा समेत दलहरु एक भएको उनले बताए।
‘हामीबीच सिट संख्यामा कुनै सहमति भएको छैन। लोकतान्त्रिक गठबन्धनले जसरी पनि निर्वाचन जित्नैपर्छ भन्नेमा हामी सहमत भएका छौं,’ उनले भने।
राजपा र फोरमबीच पनि चुनावी तालमेल गर्न मोटामोटी सहमति भइसकेको उनले बताए।
‘स्थानीय तह निर्वाचनका आधारमा जसको जहाँ बर्चस्व छ, उसलाई छोड्ने सहमति भएको छ,’ शुक्ले भने, ‘शिर्ष नेतृत्वको निर्वाचन क्षेत्रमा भने कुनै प्रावधान नराख्ने प्रयास भइरहेको छ।’
समानुपातिकको अन्तिम सूची बनाउन लागेकाले तालमेलको छलफल निश्कर्षमा पुर्याउन नसकिएको उनले बताए।
‘कांग्रेससँग दुई चरणमा अनौपचारिक कुराकानी भइसकेको छ,’उनले भने,‘ भोलि बिहानसम्म एउटा निश्कर्ष आउन सक्छ।’
त्यस्त दुइटा मतपत्र एउटैमा छाप्न नमिल्ने सर्वोच्चको आदेश सबैले मान्नुपर्ने शुक्लले बताए। ‘अदालतको आदेश लत्याउन मिल्दैन। निर्वाचन आयोगले समय छैन भनेर हुँदैन। यसका लागि जनशक्ति र मतपेटिका थप्ने जस्ता व्यवस्थापन मिलाउनुपर्छ,’ उनले भने।