दोश्रो चरणको निर्वाचनको लागि एमाले–माओवादीले २० जिल्लाको सिट बाँडफाँटको टुंगो लगाएका छन्।
बिहानैदेखि बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले साँझ ६ बजेसम्म २० वटा जिल्लाको टुंगो लगाइसकेको एमाले नेता एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले सेतोपाटीलाई बताए।
आज राती अबरेसम्म बैठक बसेर भएपनि सबै जिल्लाको टुंगो लगाउने पाण्डेले बताए।
‘अहिले तनहुँसम्मको टुंगो लगाएका छौं।अब हामी तनहुँबाट पश्चिम लाग्छौं,’पाण्डेले भने, ‘अबको २ घण्टामा दोश्रो चरणमा चुनाव हुने ४५ जिल्लाको टुंगो लाग्छ।’
चितवन क्षेत्र नम्बर २ को टुंगो लगाउन बाँकी रहेको पाण्डेले बताए। चितवन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले चासो देखाएका छन्। एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलको विकल्प खोज्न नहुने भन्दै चितवनका एमाले कार्यकर्ताले दबाब पनि दिएका छन्।
दाङ क्षेत्र नम्बर २ को विवाद भने टुंगिएको पाण्डेले बताए। दाङ–२ मा एमाले नेता शंकर पोखरेल र माओवादी केन्द्र नेता कृष्णबहादुर महराको दावी थियो। पोखरेललाई एमालेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री उम्मेदवार बनाउने निर्णय भएको पाण्डेले बताए। पोखरेल प्रदेशसभामा जाने भएपछि अब दाङ–२ बाट महरा उम्मेदवार बन्ने बाटो खुलेको छ।
अहिलेसम्म दुई दलबीच इलाम, धनकुटा, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रेपलान्चोक, पूर्वी नवलपरासी र तनहुँ बाँडफाँट सकिएको पाण्डेले बताए। ६०–४० अनुपातमा बाँडफाँट गरिएको उनले बताए। काठमाडौं ६, ८ र १० माओवादी केन्द्रलाई दिने सहमति भएको छ भने मोरङमा २ वटा क्षेत्र पाउने भएको छ।
सिट बाँडफाँटका लागि दुई दलका शिर्ष नेताहरुको बैठक बिहानैदेखि भैंसेपाटीस्थित एमाले उपाध्यक्ष बामदेव गौतमको घरमा बसिरहेको छ।