गठबन्धन गरेर उम्मेदवारी दिएका नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते चुनाव हुने ३२ जिल्लामा चुनावी प्रचार पनि मिलेर गर्ने भएका छन्। त्यसका लागि उनीहरु सबै जिल्लामा संयुक्त कार्यक्रम आयोजना गर्ने भएका छन्।
ती संयुक्त कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दैैछन्।
एमाले सचिव योगेश भट्टराईका अनुसार कात्तिक १९ गते पूर्वका दुई जिल्ला पाँचथर र ताप्लेजुङमा संयुक्त कार्यक्रम हुनेछ। ‘दुबै जिल्लाका कार्यक्रममा दुबै पार्टीका अध्यक्षले सम्बोधन गर्नुहुन्छ,’ भट्टराईले भने, ‘ त्यसपछि कार्यक्रम पश्चिमतिर हुँदै दार्चुलामा गएर सकिन्छ।’
कात्तिक १९ गते सुरु हुने संयुक्त कार्यक्रम २६ गते सकिनेछ।
पार्टी नै एकीकरण गर्ने सहमति गरेका एमाले र माओवादीले पहिलो चरणमा चुनाव हुने ३७ प्रतिनिधि सभा सदस्यमध्ये २१ र १६ सिट बाँडेर उम्मेदवारी दिएका छन्।