नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापाको क्षेत्र नम्बर ३ बाटै प्रतिनिधिसभा चुनाव लड्ने भएका छन्।
यसअघि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा उनको नाम राखिएको थियो।
संसदीय तथा प्रदेशसभा निर्वाचन परिचालनको ‘कमाण्ड’ सम्हाल्ने जिम्मा दिएर उनलाई समानुपातिकतर्फ उठाउने तयारी थियो। तर सिटौलाले आफु प्रत्यक्षमै उठ्ने भनेपछि उनको नाम समानुपातिक सुचिबाट हटाइएको छ।
कांग्रेसको चुनावि प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाणले सिटौलाको नाम समानुपातिकबाट झिकिएको बताए।
'उहाँले प्रत्यक्षमै लड्छु भन्नु भयो त्यसैले पार्टी सभापतिले पनि समानुपातिकबाट उहाँको नाम हटाउन लगाउनु भयो। अब उहाँ प्रत्यक्षमै लड्नुहुन्छ,' उनले सेतोपाटीसंग भने।
कांग्रेसले चुनावी तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ आफूले पाउनुपर्ने भनेर माग गरेको थियो माग गरेमध्ये झापाको क्षेत्रनम्बर ३ पनि पर्छ। जो सिटौलाको क्षेत्र हो। त्यहाँ राप्रपाले आफ्ना युवा नेता राजेन्द्र लिङ्गदेनलाई उठाउने निर्णय गरिसकेको छ। उनी गत संविधानसभा निर्वाचनमा सिटौलाका निकटतम प्रतिद्वन्दी थिए। गएको स्थानीय तह निर्वाचनमा सोहि क्षेत्रमा पर्ने २ गाउँपालिका पनि राप्रपाले जितेको छ।