कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समानुपातिकबाट नाम झिकेर झापा–३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएपछि राप्रपा र कांग्रेस चुनावी तालमेलमा समस्या देखिएको छ।
आइतबार राति कांग्रेसले नेता सिटौलाको नाम समानुपातिक सुचीबाट निकालेको थियो।
सिटौला प्रत्यक्षमा चुनाव लड्ने भएपछि झापा– ३ मा राप्रपाबाट उम्मेदवार बनेका राजेन्द्र लिङ्देनले सामाजिक सञ्जाल ट्वीटरमार्फत कांग्रेससँगको गठबन्धन टुटेको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्– भ्रममा नपरौं, झापा –३ बाट मेरो उम्मेदवारी कायम रहन्छ। कुरा यत्ति हो एउटै गठबन्धनका दुई उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो।
कांग्रेससँगको गठबन्धनका विषयमा राप्रपाले औपचारिक निर्णय भने लिइसकेको छैन।
यद्यपी झापा– ३ पार्टीको प्रतिष्ठाको विषय भएकाले कुनै पनि हालत छोड्ने पक्षमा आफूहरु नरहेको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले बताए।
‘प्रधानमन्त्री र हाम्रो अध्यक्षले अनि दुबै पार्टीको कार्यदलको तहमा पनि झापा– ३ राप्रपाले उम्मेदवारी दिने सहमति भएको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘झापा हाम्रा लागि प्रतिष्ठाको विषय हो सहमतिविपरित सिटौलाजी उम्मेदवार बन्ने हो भने हामी पनि कुनै हालतमा छोड्दैनौं।’
उनले कांग्रेससँगको चुनावी तालमेल अहिले नै टुटिनसकेको बताए।
‘हामी कुराकानी गरिरहेका छौं, समानुपातिकको सूचीमा आजमा पनि फेरबदल गर्न मिल्छ,’ उनले भने, ‘हामी साँझसम्म कांग्रेसले के गर्छ कुर्छौं।’
झापामा स्थानीय तहमा राप्रपाले राम्रो प्रभाव देखाएको थियो। केन्द्रीय संसदमा प्रत्यक्षतर्फ उसले जित्ने सम्भावना भएको ठाउँ पनि झापा -३ नै हो।