संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बिच चुनावी तालमेलको प्रयास सहमति नजिक पुगेको छ।
दुई दलले भोलि (मंगलबार) सम्म औपचारिक घोषणा गर्ने गरि छलफल गरिरहेको राजपाका महासचिव मनिष सुमनले सेतोपाटीलाई जानकारी दिए।
विगतको निर्वाचन, सांगठनिक आधार र उम्मेदवारको लोकप्रियताको आधारमा चुनावी तालमेल हुने सुमनले बताए।
‘हामी फोरमसँग सहमतिको नजिक पुगेका छौ। हरेक ठाँउमा दुवै दलको दाबी छ,’ उनले भने, ‘भरे–भोलिसम्म हामी औपचारिक घोषणा गर्छौ।’
फोरमका नेता राजेन्द्र श्रेष्ठले राजपासँगको तालमेल सार्वजनिक जस्तै भइसकेको बताए। उनले प्रदेश नम्बर दुईको ३२ क्षेत्रमध्ये फोरमलाई १७ र राजपालाई १५ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने गरी सहमति भएको बताए। प्रदेश नम्बर दुई बाहेकका अन्य प्रदेशमा भने तालमेल नहुने उनले स्पष्ट पारे। ‘दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा राजपाको आधार छैन,’उनले भने, ‘हाम्रो तालमेल पनि दुई नम्बर प्रदेशमा मात्रै हुन्छ।’
उनले कांग्रेससँग पनि छलफल चलिरहेको बताए। दुई पार्टीबिचमा सहमति भइसकेपछि कांग्रेससँगको छलफल अघि बढाउने उनले बताए।
कांग्रेससँग निर्वाचनको तालमेल हुने सम्भावना टर्दै गएको स्रोतले दाबी गरेको छ। दुवै पक्षका नेताहरुले बढी क्षेत्र मागेको एकले अर्कोलाई आरोप लगाएका छन्।
यो पनि हेर्नुहोस्:
कांग्रेससँग सैद्धान्तिक छलफल भए पनि तालमेलका लागि निर्वाचन क्षेत्रको विषयमा प्रवेश नगरेको महासचिव मनिस सुमनले बताए। ‘जहाँ पनि कांग्रेसले माग्छ। अनि हामी कहाँबाट लड्ने?’, उनले भने, ‘कांग्रेससँग सुरूका दिनमा जे छलफल भएको थियो। त्यहाँबाट अघि बढ्न सकेको छैनौ।’
यद्यपी तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएकोले अन्तिम समयसम्म पनि प्रयास जारी रहने राजपाका अर्का महासचिव केशव झाले सेतोपाटीलाई बताए।