उद्योगी तथा एमालेका पूर्व सांसद विनोद चौधरीलाई कांग्रेसले समानुपातिक सूचीमा राखेको छ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम रहेको प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाँणले सेतोपाटीलाई जानकारी दिए।
'उहाँलाई मधेसी, अल्पसंख्यक मारवाडी कोटाबाट समानुपातिकको सूचीमा राखिएको छ,' उनले भने।
कांग्रेसले उद्योगी व्यवसायी र कुशल व्यवस्थापकको रुपमा उनलाई स्वागत गरेको पनि उनले बताए।
'अर्थतन्त्रमा कांग्रेसले लिएर आएको उदारवादी अर्थतन्त्र अभियानमा सघाउन उहाँले नेपाली कांग्रेसलाई साथ दिनुभो,' खाँणले भने, 'उद्योगी व्यवसायी र कुशल व्यवस्थापकहरुलाई कांग्रेसले स्थान दिन सक्छ। त्यसैले हामीले उहाँलाई स्वागत गरेका हौँ।'
समानुपातिक सूचीको सुरुआतीतिरै चौधरीको नाम भए उनी सांसद हुने पक्का छ। यसपालि समानुपातिकको बन्दसूची पठाइएको छ जुन सूचीका नाम तलमाथि हेरफेर गर्न पाइँदैन।
चौधरी यसअघि पहिलो संविधानसभामा नेकपा एमालेका समानुपातिक सांसद थिए।