नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले प्रतिनिधिसभा चुनावका लागि कैलालीको क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएकी छन्।
उम्मेदवारी टुंगो लगाउन बसेको कांग्रेस संसदीय बोर्डले कैलाली -५ बाट राणालाई टिकट दिने निर्णय गरेको समिति सदस्य तथा प्रचार समितिका संयोजक बालकृष्ण खाणले सेतोपाटीलाई जानकारी दिए।
आरजु यसअघि कांग्रेसको समानुपातिक सांसद थिइन्। उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन्।
राणा उठ्न लागेको कैलाली - ५ मा यसअघि देउवाले चुनाव जितेका थिए। यसपालि भने देउवाले डडेल्धुराबाट मात्र उम्मेदवार बन्ने भएका छन्।
धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका दुई वडा मिलेर बनेको कैलाली- ५मा कांग्रेसको बलियो प्रभाव छ।
भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रबाट कांग्रेसको मत धेरै आएको थियो।
उसले १७ हजार ६ सय ४४ मत पाएको थियो। कांग्रेसमा मिसिएको फोरम लोकतान्त्रिकले यो क्षेत्रमा पाएको १ हजार ३ सय ८३ मत जोड्दा कांग्रेसको भोट यहाँ १९ हजार २७ हुन्छ। कांग्रेसले तालमेल गरेको राप्रपाले पनि यो क्षेत्रबाट ३ हजार मत पाएको छ।
यी तिनै दलको मत जोड्ने हो भने २२ हजार ८ सय पुग्छ।
तर यो क्षेत्रमा बाम गठबन्धनको पनि राम्रो मत आएको थियो। एमाले माओवादीलाई स्थानीय तहमा आएको मत जोड्ने हो भने २४ हजार २ सय ८१ पुग्छ। यो मत कांग्रेस र राप्रपाको भन्दा २ हजार बढी हो।
आरजुले यो क्षेत्रमा प्रतिनिधिसभा चुनाव जित्न यहि २ हजार मध्ये १५ सय मत आफूतिर तान्न सक्नुपर्ने छ।