नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार गरेको घोषणापत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रति आक्रामक देखिएको छ।
आफ्नो घोषणापत्रमा काँग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई 'धृतराष्ट्रको अंगालो' सँग तुलना गरेको छ।
घोषणापत्रमा भनिएको छ - 'निरन्तर विभाजित भैरहेको माओवादी केन्द्र र नेकपा एमाले अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिले धृतराष्ट्रको अंगालोमा बाँध्ने गरि क्रियाशिल भएका छन्।'
कांग्रेसले किन 'धृतराष्ट्रको अंगालो’ भनेको हो घोषणापत्रमा खुलाइएको छैन।
के हो 'धृतराष्ट्रको अंगालो’?
'धृतराष्ट्रको अंगालो’ महाभारतबाट आएको हो। महाभारतको युद्ध समाप्त भएपछि युधिष्ठिर र अर्जुनसहित पाँच पाण्डव धृतराष्ट्र र गान्धारीलाई भेट्न जान्छन्। सबैले धृतराष्ट्रलाई प्रणाम गर्छन्।
धृतराष्ट्रले भीमलाई अङ्गालो मार्ने इच्छा व्यक्त गर्छन्। भीमले नै युद्वमा धृतराष्ट्रका पुत्र दुर्योधनलाई मारेका हुन्।
भीमलाई अङ्गालो मार्ने धृतराष्ट्रको इच्छा पछि श्रीकृष्णले चलाखी अपनाउँछन्। श्रीकृष्णले आँखा नदेख्ने धृतराष्ट्रको अगाडि भीमलाई नपठाई एउटा फलामको मूर्तीलाई लगिदिन्छन्।
धृतराष्ट्रको यति बेजोडसँग अङ्गालो मार्छन्, फलामको त्यो मूर्ती टुक्रा टुक्रा हुन्छ।
महाभारतमा धृतराष्ट्रको अंगालोलाई ‘मृत्युको अंगालो’को रुपमा ब्याख्या गरिन्छ।
एमाले र माओवादी बिचको गठबन्धनलाई कांग्रेसले 'धृतराष्ट्रको अंगालो’सँग तुलना त गरेको छ, तर त्यो अंगालोको कसले कसलाई समाप्त पार्न खोजेको हो उल्लेख छैन।
धृतराष्ट्रको अंगालोको प्रसङ्ग मात्र हैन, घोषणापत्रमा कांग्रेस अन्य प्रसंगमा पनि माओवादी एमाले प्रति आक्रमक देखिएको छ।
कांग्रेसले घोषणापत्रमा भनेको छ -'कम्युनिष्ट गठबन्धनको योजनाकार संविधानको आधारभूत लोकतान्त्रिक मुल्य पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र स्थापना गर्ने उद्देश्यले बनेको छ।'
त्यस्तै घोषणापत्रमा नेकपा माओवादी केन्द्रलाई 'असफलताको केन्द्र’ भनि टिप्पणी गरिएको छ।
घोषणापत्रमा भनिएको छ, 'पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थीर राजनीति, सत्ता स्वार्थको गठबन्धन, वैचारिक असपष्टता र असफलताको केन्द्र बन्दै आएको छ।'
त्यस्तै काँग्रेसले एमालेलाई 'व्यावसायिक घराना’ भन्ने आरोप लगाएको छ।
‘नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता तथा कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजिओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको रुपमा आफूलाई परिवर्तित गर्दै लगेको छ,’ घोषणापत्र भनिएको छ।
हेर्नुहो कांग्रेसको घोषणा पत्रको पूर्ण पाठ