राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले दुई गठबन्धन बन्नु मुलुकको हितमा नै रहेको स्पष्ट पारेका छन् । उनले भने,‘वाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धन बन्नु मुलुकको हितमा छ, अब यसले मुलुकको विकासमा हित गर्छ।’ उनले जनतालाई पनि अब दुई वटा कित्ता छुट्याउने बेला आएको धारणा राखे ।
मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले भने,‘मुलुकमा स्थायी सरकार र विकासको लागि बृहत्त प्रजातान्त्रिक शक्ति निर्माणको लागि हाम्रो पार्टीले त्यतिवेला नै कुरा उठाएको थियो, अहिले आएर प्रजातान्त्रिक गठबन्धन बनेको छ, यो गठबन्धन स्थाीय शासनको प्रतिज्ञाको लागि हो।’ उनले मुलुकलाई एकदलीय अधिनायवादको खतराबाट जोगाउनको लागि पनि प्रजातान्त्रिक शक्ति बलियो हुनुपर्ने जिकिर गरे ।
उनले प्रजातान्त्रिक शक्तिको जीत नै मुलुकमा भीमकायी अर्थतन्त्रको लागि फलदायी हुने विश्वास दिलाए । उनले भने,‘हेर्नुहोस्, हाम्रो देशमा अर्थतन्त्रको हिसाबले ढल भयो, भ्याकुम छ।, अब हाम्रो गठबन्धन उदार र स्थायित्वको लागि हो, प्रजातान्त्रिक शक्तिलाई विजयी गराउनुमा नै सबैको भलाई हुन्छ।’
उनले चीनमा विकास भएपनि अहिलेसम्म प्रजातन्त्र नआएको आरोप लगाए। उनले थपे,‘त्यहाँ एकदलीय अधिनायवाद छ, साम्यवादी पार्टीको लक्ष्य नै एकदलीय अधिनायवाद लाद्न खोज्नु नै हो, त्यसैले नेपालको हकमा पनि वाम गठबन्धनले हामी एकदलीय अधिनायवादको लागि होईन भनेपनि अहिले नै विश्वास गर्ने आधार छैन।’
उनले वाम गठबन्धनलाई मत दिनु भनेको मुलुकमा एकदलीय अधिनायवाद ल्याउनु हो भन्दै त्यसबाट मुक्त हुनको लागि पनि बृहत्त प्रजातान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । उनले चीनको छायाँमा एमाले–माओवादी केन्द्रको गठबन्धन बनेको आरोप लगाए । राणाले थपे,‘नेपालको वाम गठबन्धनमा चीनको छायाँ परेको छ।’
नेपाल देश नै परम्परा र संस्कृतिले भरिपुर्ण भएको देश भएकोले नेपालमा साम्यवाद नसुहाउने जिकिर गरे । उनले भने,‘हाम्रो देशलाई साम्यवाद सुहाउँदैन, त्यसैले हाम्रो प्रजातान्त्रिक गठबन्धनलाई मत दिनुहोस्, यसमै मुलुकको हित र भलाई छ।’ बहुदलीय प्रजातन्त्र मुल्यवान किम्वती भएकोले यसको निधो प्रजातान्त्रिक शक्तिबाट मात्रै हुने उनको दाबी थियो । मुलुकलाई स्थिर सरकार र फड्को मार्ने विकासको लागि पनि आफूहरुको गठबन्धनले वादा गरेको भन्दै गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने उनको भनाई थियो ।
त्यस्तै उनले कांग्रेससँग चुनावी तालमेलबारे अहिलेसम्म ४ क्षेत्रमा कुरा मिलेको भएपनि आज साँझै अरुपनि क्षेत्रमा कुरा मिल्ने विश्वास दिलाए । उनका अनुसार अहिलेसम्म सिन्धुपाल्चोक, चितवन, धनकुटा र रुपन्देहीमा तालमेलको सहमति भएको छ । त्यस्तै उनले आफ्नो पार्टीले कांग्रेससँगको तालमेलको लागि केन्द्रमा ७÷८ र प्रदेशमा १५ स्थान माँगेको सुनाए । उनले प्रजातान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास दिलाए ।