सत्तारुढ दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा ७ ठाउँमा चुनावी तालमेल गर्ने सहमति झापामा भने धरापमा परको छ।
झापा – ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन दुबैले एकअर्कालाई छोड्न नमानेपछि कांग्रेस–राप्रपा गठबन्धन झापामा अप्ठेरोमा परेको हो।
दुबै पार्टीले गठन गरेको कार्यदल तहमा झापा– ३ लगायत देभभरिका सात ठाउँमा कांग्रेसले राप्रपालाई सिट छोड्ने लिखित सहमति भएको थियो।
त्यो सहमतिसँगै कांग्रेसले समानुपातिकतर्फ निर्वाचन आयोगमा पहिलो सूची बुझाउँदा सिटौलाको नाम पहिलो नम्बरमा राखेको थियो। सिटौलाले समानुपातिकमा नबस्ने र प्रत्यक्षमै झापा–३ मा चुनाव लड्ने अडान लिएपछि समानुपातिकको संशोधित सूची बुझाउँदा कांग्रेसले उनको नाम सूचीबाट हटायो।
कांग्रेसले झापा– ३ बाटै सिटौला चुनाव लड्ने घोषणा पनि गरिसकेको छ।
सिटौलाले अड्डी कसेपछि राप्रपाले लिङ्देनलाई चुनाव नलड्न अनुरोध गरेको थियो। तर लिङ्देनले आफूलाई पार्टीले टिकट नदिए स्वतन्त्रबाटै लड्ने धम्की दिए। सिटौला र लिङ्देनको अडानको कारण अप्ठेरोमा परेका कांग्रेस र राप्रपाले अन्ततः गठबन्धन जोगाइराख्ने, अन्य जिल्लामा भएका सहमति अनुसार सहमति दिने र झापामा ‘मैत्रीपूर्ण’ प्रतिष्पर्धा गर्ने सहमति गरेको राप्रपाका एक शीर्ष नेताले सेतोपाटीलाई बताए।
‘कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच झापामा उत्पन्न विवादपछि पनि गठबन्धनलाई कायम राख्ने सहमति भएको छ,’ ती नेताले भने, ‘अब झापामा दुई पार्टीबीच प्रतिष्पर्धा हुन्छ। तर त्यसले गठबन्धनमा असर पार्दैन।’
झापामा कुरा नमिलेपछि अब कांग्रेस र राप्रपाले मकवानपुर–१, पर्सा–२, दैलेख १, काठमाडौँ–७ बाँके(२ र धनुषाको एउटा क्षेत्रमा चुनावी तालमेल गर्ने भएका छन्।
यसैबीच झापा–३ मा सिटौलाविरुद्ध राप्रपाका लिङ्देनलाई सघाउने एमाले–माओवादीले सहमति गरेका छन्।
एमालेका एक नेताले सेतोपाटीसँग भने, ‘झापा– ३ मा राप्रपालाई वामगठबन्धनले छोड्ने र झापाका अन्य ४ निर्वाचन क्षेत्रमा राप्रपाले वाम गठबन्धनलाई सघाउने लगभग सहमति बनेको छ।’
लिङ्देनले पनि झापा जिल्लाभरि राप्रपा र वाम गठबन्धनबीच चुनावी तालमेल हुन लागेको पुष्टि गरे। उनले सेतोपाटीसँग भने, ‘औपचारिक निर्णय त भइसकेको छैन तर त्यस्तै सहमति बनेको छ।’
उनले झापा– ३ मा आफू एक्लै भएपनि चुनाव लड्ने गरी तयारी गरेको र कांग्रेस वा वाम गठबन्धन जोसँग तालमेल गरेपनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।
झापा जिल्लाभरि राप्रपाले वाम गठबन्धनका उम्मेदवारलाई सघाउने मंगलबार रातभरिमा बनेको सहमतिपछि कांग्रेसमा के प्रतिक्रिया उत्पन्न हुन्छ, एकीन छैन। मकवानपुर कांग्रेसले राप्रपा अध्यक्ष कमल थापालाई छोड्ने निर्णयविरुद्ध त्यसैपनि विरोध जारी छ।
बिहीबार उम्मेदवारी दर्ता गर्नुअघि नै कांग्रेस– राप्रपा तालमेल नै धरापमा प¥यो भने वाम गठबन्धनले राप्रपालाई सघाउँछ वा सघाउँदैन भन्ने चासोको विषय बनेको छ।