अन्तिम समयमा नेकपा एमालेले काठमाडौं क्षेत्र नं १ माओवादी केन्द्रलाई छाडेको छ।
यसअघि एमालेले माओवादी केन्द्रलाई १० मध्ये ३ क्षेत्र मात्र दिन सकिने जनाएको थियो।
माओवादी केन्द्रले काठमाडौंको ६, ८ र १० नम्बर क्षेत्र पाएको थियो।
उम्मेदवारी दर्ताको अघिल्लो दिन एमालेले आफ्नो भागको काठमाडौं - १ माओवादी केन्द्रलाई छाडेको हो।
माओवादी पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले काठमाडौंको सो क्षेत्रमा अनिल शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको बताए।
शर्मा केही महिनाअघि अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए।
उनी माओवादी नेता जनार्दन शर्मा भाइ हुन्।
माओवादीले काठमाडौं -१० बाट हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ। सो क्षेत्रको प्रदेश सभामा माओवादीले दीलिप महर्जनलाई उठाउने भएको छ।
प्रदेश सभाकै अर्को क्षेत्र भने नेकपा एमालेले पाएको छ।
त्यस्तै काठमाडौं ८ बाट उमेश स्थापित र ६ बाट झक्कु सुवेदीलाई माओवादीलाई टिकट दिएको छ।
झक्कु सुवेदीले २०६४ को निर्वाचनमा काठमाडौं २ बाट माधव नेपाललाई पराजित गरेका थिए। प्रदेश सभा तर्फ भने काठमाडौंको क्षेत्र नं ३ मा माओवादी केन्द्रले रुद्र बराइलीलाई उम्मेदवार बनाउने भएको छ।
सो क्षेत्रको प्रतिनिधि सभामा एमालेले उम्मेद्वार उठाउने छ। काठमाडौंको प्रदेश सभाको २० सिट मध्ये माओवादीले २ सिटमात्र पाएको हो।
यो क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाबाट रवीन्द्र मिश्र लड्दै छन्।