काठमाडौं क्षेत्र नम्बर ८ मा एमाले नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
सो क्षेत्र एमालेले यसअघि नेकपा माओवादी केन्द्रलाई छाडेको थियो। माओवादी केन्द्रले उमेश स्थापितलाई उम्मेदवार बनाउने निर्णय गर्दै टिकट दिएको थियो।
तर माओवादी केन्द्रले सो क्षेत्र एमालेलाई छाड्दै टिकट फिर्ता लिएको माओवादी नेतृ रूपा महर्जनले जानकारी दिइन्।
माओवादीका नेता लेखनाथ न्यौपानेले टिकट स्थापितलाई बुझाएका थिए। तर त्यसको एक घण्टापछि टिकट फिर्ता भएको महर्जनले बताइन्।
श्रेष्ठले माओवादीलाई काठमाडौं- १ छाडेपछि आफू काठमाडौँ ८ बाट उम्मेद्वार बन्न लागेको बताए।
'पार्टी स्थायी समितिको निर्णय भइसक्यो। म अब उम्मेदवारी दर्ता गर्न जाने तयारीमा छु', उनले भने।
क्षेत्र नम्बर ८ एमालेलाई छाडेसँगै माओवादीले काठमाडौंमा तीन उम्मेद्वार पाएको छ। अब काठमाडौं १ बाट अनिल शर्मा, ६ मा झक्कु सेवदी र १० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ।
श्रेष्ठ उम्मेदवार बनेको यो क्षेत्रमा कांग्रेसका नवीन्द्रराज जोशी उम्मेदवार छन्। जोशी दुबै संविधान सभा निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएका थिए।