मनोनयन दर्ता गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्।
उनी झापा-५ बाट उम्मेद्वार बन्दैछन्। माओवादी केन्द्रसँग पार्टी एकतासमेत गर्ने गरी गठबन्धन गरेपछि पहिलोपटक झापा पुगेका ओलीले भ्रदुपर विमानस्थलमा पत्रकारको प्रश्नको सामना गरे।
एक पत्रकारले ओलीलाई सोधे- के निर्वाचनपछि केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष अनि माधव नेपाल राष्ट्रपति? यही हो सहमति?
ओलीले जवाफ फर्काए- तपाँइको मुखमा दूध र भात।
ती पत्रकारले फेरि प्रश्न गरे सहमति भएको हो कि होइन्?
ओलीले भने- म प्रधानमन्त्री हुन हिँडेको पनि होइन। हाम्रो त्यस्तै कुनै सहमति छैन।'
उनले प्रधानमन्त्री र राष्ट्रपति हुन्छ? भन्ने हिसाब कांग्रेसले गर्ने बताए।
'यो हिसाब कांग्रेसले गर्छ। क्यालकुलेटर किन्दै हिसाब गर्छ', ओलीले भने।
ओलीले मुलुकमा कांग्रेसले राजनीति गरिरहे पनि राष्ट्रिय एकता विरोधी, समृद्धि विरोधी राजनीति गरिरहेको बताए।
ओलीले एमालेलाई देश बनाउने र पूर्व र पश्चिम रेल कुदाउने उम्मेदवार चाहिएको बताए।