सर्लाही–४ मा राजपा नेता राजेन्द्र महतोलाई छोड्न कांग्रेस तयार हुँदा पनि दुई दलबीच तालमेल हुन सकेन।
बुधबार बिहान कांग्रेसले महतोका लागि सर्लाही–४ छोड्ने जानकारी गराएको थियो। तर अब ढिला भइसकेको भन्दै महतोले अस्वीकार गरेपछि तालमेलको प्रयास सफल हुन सकेन।
राति अबेरसम्म दुई दलका शीर्ष नेता सहमति गर्न बसे पनि तालमेलको प्रयास असफल भएको थियो।
कांग्रेसले बोलाएको बैठक नै महतोले बहिष्कार गरेका थिए । मंगलबार बेलुकासम्म पनि सर्लाही–४ बाट निर्वाचन लड्न महतो तयार भएका थिए । तर त्यो बेला उनलाई सो क्षेत्र छाड्न कांग्रेस तयार थिएन।
कांग्रेसले नमानेपछि महतोलेले धनुषा–३ मा विमलेन्द्र निधिविरुद्ध लड्ने जानकारी गराएका थिए।
चुनावी तालमेल हुन नसक्नुको दोष महतोले निधिलाई नै दिएका छन्। निधिकै असक्षमताका कारण मधेशमा चुनावी तालमेल हुन नसकेको उनले आरोप लगाए। गठबन्धन बनाएर निर्वाचनमा जाने सहमति भएको भए आफू धनुषा–३ को विकल्पमा अन्य क्षेत्र रोज्न समेत तयार भएको उनले बताए।
‘नेपाली कांग्रेसले अहंकार देखायो।कांग्रेस जिम्मेवार बन्न सकेन, ’महतोले सेतोपाटीसँग भने,‘कांग्रेससँग कुरा मिलेन म निधिविरुद्ध उम्मेदवारी दिन्छु।’
मधेश आन्दोलनको केन्द्र नै जनकपुर भएकोले त्यहीबाट निर्वाचन लड्ने निर्णय गरेको महतोले बताए।
‘यो निर्वाचन पनि एउटा आन्दोलन नै हो। त्यसैले मैले जनकपुर रोजेको हो। त्यहाँका जनताले मलाई खोजेका छन्,’ उनले भने, ‘कांग्रेससँग तालमेल गरेर म आउँदैन कि भन्ने जनतालाई चिन्ता थियो। म आउने भएपछि जनता खुृसी छन्।’
धनुषा–३ बाट महतो लड्ने भएपछि निधिले राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध महोतरी–३ मा उम्मेदवार उठाउने चेतावनी दिए।
निधिको उक्त चेतावनीपछि महतो थप आक्रोशित बनेको राजपाका एक नेताले सेतोपाटीलाई बताए ।
दुबै दलका नेताहरु महतो र निधिलाई एकै ठाउमा निर्वाचन लड्न नदिने पक्षमा रहेको भए पनि उनीहरुको प्रयास सफल हुन सकेन।
अब धनुषा–३ मा कांग्रेस र राजपाबीच प्रतिसपर्धा हुने देखिन्छ। स्थानीय तहको नतिजालाई आधार मान्ने हो भने यो क्षेत्रमा पर्ने जनकपुर उपमहानगरका वडामा राजपा बलियो छ।
धनुषा–३ मा पर्ने अन्य स्थानीय तहका वडाको मतलाई आधार मान्ने हो भने राजपा–फोरमभन्दा कांग्रेस बलियो छ।
दुई नम्बर प्रदेशमा कांग्रेसको भन्दा राजपा–फोरमको लोकप्रिय मत बढी रहेको यथार्थलाई कांग्रेसले आत्मसात् गर्न नसक्दा तालमेल नभएको राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सेतोपाटीलाई बताए।