एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस पतनको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्।
रिपोर्टस क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेता नेपालले प्रजातान्त्रिक मूल्य मान्यता पालनामा कमजोर बन्दै गएको नेपाली कांग्रेस पतनउन्मुख भएको टिप्पणी गरेका हुन्।
‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रहीको कारणले नेपालको राजनीतिमा आफैं पतनको बाटोमा गयो, अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन्, जनता पनि कांग्रेसको पतन नै चाहन्छन्,’ उनले भने।
सार्वजनिक कार्यक्रममा सधै शालिन र भद्र अभिव्यक्ति दिने नेपाल शनिबार कांग्रेसप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भए। नेपाली कांग्रेसलाई विकासको बाधक भन्दै उनले भ्रष्टाचारको वाहक र सुसासनमा शून्य देखिएको उसको अस्तित्व प्रजापरिषद्को जस्तो हुने दाबी समेत गरे।
नेपालले एमाले र माओवादी केन्द्रवीचको चुनावी तालमेल र पार्टी एकताको घोषणाले कांग्रेस बौलाउन थालेको आरोप लगाए। ‘हाम्रो एकता प्रयास देखेर कांग्रेस बौलाएको छ, अन्यन्तै तल्लो स्तरमा उत्रिएर प्रस्तुत भएको छ, उसका प्रतिक्रियाहरु जथाभावी आएका छन्,’ उनले भने।
‘कांग्रेसको काम नै अरुले गर्ने कुरामा ईष्र्या राख्ने मात्रै भयो, कम्युनिष्टहरु मिलेर अधिनायवाद लाद्न खोजे भनेर हल्ला फिँजाएको कांग्रेसको हालत प्रजा परिषदको जस्तो हुन बेर छैन्, तर कांग्रेस पतन हुन्छ कि भनेर यसको चिन्ता एमालेले गर्दैन्, यो त स्वयम कांग्रेसले गर्ने कुरा हो ।’
उनले कांग्रेस विकासको बाधक भएको आरोप लगाउँदै भने,‘कांग्रेस सामाजिक मुल्य र मान्यतालाई पालना गर्ने कुरामा कमजोर देखिएको छ, राष्ट्रियताको मामलामा अत्यन्तै फितलो बनेको छ । सुशासनको कुरामा त कांग्रेस माईनसमा पुगेको छ, जिरो छ ।’
लामो ईतिहास बोकेका, स्थिर र परिवर्तनको पक्षधर पार्टीहरुलाई जनताले अबको चुनावमा जिताउने विश्वास गर्दै नेता नेपाले ३ प्रतिशतको थ्रेस होल्डका कारण दलहरुवीच ध्रुवीकरण बढ्दै गएको स्पष्ट पारे । उनले थपे,‘थ्रेस होल्डका कारण दलहरुलाई एक–अर्काप्रति नजिक हुन प्रेरित गरेको छ, हुन त धु्रवीकरणको निम्ति थ्रेस होल्डले काम गरेको छ, यो त संविधानमै छ नि, कांग्रेस आँफैले बनाएको कानुन हामीले पालना गर्दा किन यसरी बौलाएको होला, अनि हामीले वाम गठबन्धन बनाउँदा नेपाली कांग्रेस अत्तालिनु भनेको लज्जास्पद कुरा हो।’
धेरै चुनौतीहरूमा अग्रगामी भूमिका खेल्ने पार्टी नै एमाले भएको भन्दै उनले अनेक परीक्षामा पास हुँदै अघि बढेको माओवादी केन्द्रबीचको एकता स्वभाविक भएकाले त्यसबाट कोही आत्तिनु नपर्ने बताए।
बामगठबन्धनबाट अत्तालिएको कांग्रेसले चुनावी तालमेल गरे पनि त्यसलाई सम्हाल्न नसकेर बरालिएर दुनियाँको सामु तमासे बनेको भन्दै नेता नेपालले सन्तुलित, संयमित हुँदै लोकतन्त्रको आधार नछोड्न सुझाव दिए।
उनले लोकतन्त्रको सवालमा एमाले उभिएको पार्टी हो भनेर कसैबाट प्रमाणपत्र लिनु नपर्ने समेत जिकिर गरे । उनले थपे,‘धेरै चूनौतिहरुको सामना गर्दै एमाले यहाँसम्म आईपुगेको छ, हाम्रो पार्टीले विभिन्न परिवर्तनको पक्षमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको कुरा सबैलाई थाहा छ, आजको दिनसम्म पनि मुलुकलाई सकारात्मक दिशामा डोर्याउँदै आईरहेको छ, ०६२/६३ को जनआन्दोलन, राजतन्त्रको उन्मुलनको लागि आन्दोलन गर्ने, र सबै खाले परिवर्तनकारी आन्दोलनमा अग्रगामी भूमिका खेल्ने पार्टी नै एमाले हो।’
https://www.youtube.com/watch?v=h4odDN7V_fk&feature=youtu.be