आफ्नै पार्टीका नेताहरुविरुद्ध चुनावी मैदानमा उत्रन स्वतन्त्र हैसियतमा मनोनयन दर्ता गराएका बागी उम्मेदवारपछि हटेका छन्।
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो। दोस्रो चरणमा अन्य दलभन्दा वाम गठबन्धन दलका धेरै नेताले बागी उम्मेदवारी दिएका थिए।
सबैभन्दा धेरै चर्चा पाएकी कोमल वलीले दाङमा वाम गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेद्वारी फिर्ता लिएकी छिन्।
एमालेले उम्मेदवार बनाउने भन्दै धोका दिएकाले स्वतन्त्र हैसियतमा उठ्न उनले मनोनयन दर्ता गरेकी थिइन्।
एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनी उदयपुर-२ पार्टीले माओवादी केन्द्रलाई छाडेपछि बागी खडा भएका थिए।
एमाले उपाध्यक्ष बामदेव गौतमविरुद्ध बर्दियामा उम्मेदवारी दिएका खड्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन्।
एमालेका भानुभक्त ढकालविरुद्ध मोरङ-३ मा भेषनाथ रिजालले दिएको उम्मेदवारी पनि फिर्ता भएको छ।
काठमाडौंमा माधवकुमार नेपालविरुद्ध खडा भएका एमालेका बागी एलपी श्रेष्ठले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।
नेता नेपाल काठमाडौ २ मा उम्मेद्वार छन्।
कांग्रेस नेतृ आरजु देउवाविरुद्ध उम्मेदवारी दिएका क्षितिज भण्डारीले पनि उम्मेद्वारी फिर्ता लिएका छन्।
आरजु कैलाली ५ बाट उम्मेदवार बनेकी छन्। कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उठेका गोविन्दराज जोशीको उम्मेदवारी भने शनिबार खारेज भएको छ।
सल्यानमा माओवादी केन्द्रका टेकबहादुर बस्नेत विरुद्ध उठेका पोलिटब्युरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी कायम राखेका छन्। तर सिन्धुली २ मा हरिबोल गजुरेलविरुद्ध उम्मेदवारी दिएका केन्द्रीय सदस्य रामकुमार पौडेलले भने फिर्ता लिएका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेद्वारी दिएका राजपाका जयप्रकाश ठाकुर कायमै छन्।
राजपा र संघीय फोरमबीच तालमेल भएपछि यादव सप्तरी-२ बाट उम्मेदवार छन्। यसैबीच नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाउन आफ्नो उम्मेदवार फिर्ता लिएको छ।
कांग्रेसले महोत्तरी ३ मा बजरंग नेपालीलाई उम्मेद्वार बनाएको थियो। केन्द्रीय निर्णयको आधारमा उनको उम्मेद्वारी फिर्ता भएको हो।