बेलायतकी महारानी एलिजाबेथसहित संसारका केही धनी तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ।
बिबिसी प्यानोरामा लगायत संसारका करिब एक सय सञ्चारमाध्यम मिलेर आइतबार राति सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ बाट उक्त खुलासा भएको हो।
यसमा १ करोड ३४ लाख गोप्य वित्तीय विवरण छानबिन गरिएको छ। ती विवरण कर छल्ने प्रयोजनले गरिएको बाह्य लगानीसँग सम्बन्धित छन्।
प्याराडाइज पेपर्सका अनुसार बेलायती महारानीले १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी रकम बाह्य कम्पनीमा लगानी गरेकी छन्। उक्त रकम केमन द्विप तथा बर्मुडाको एउटा कोषमा लगानी भएको पाइएको छ। यसको आम्दानीबाट महारानीले ५० करोड पाउन्ड बराबरको निजी सम्पत्ति व्यवस्थापन गर्दै आएकी थिइन्।
‘हामी वित्तीय परामर्शदाताको सुझावका आधारमा लगानी रणनीति तय गर्छौं,’ महारानीका प्रमुख वित्तीय अधिकृत क्रिस एडककले भने, ‘महारानीले संसारकै नामी निजी इक्विटी फन्डमा मात्र लगानी गर्नुभएको छ।’
बाह्य देशको कोष तथा कम्पनीमा लगानी गर्नु गैरकानुनी भने होइन। महारानीले यसबाट कर छलेको पनि खुलासा भएको छैन। राजपरिवारबाटै यसरी बाह्य कम्पनी वा कोषमा लगानी गर्नुले नैतिक प्रश्न भने खडा गरेको छ।
महारानीको निजी सम्पत्तिबाट ‘रिटेलर’ कम्पनी ब्राइटहाउसमा पनि लगानी भएको देखिन्छ। उक्त कम्पनी गरिब कामदारको शोषण र कर छलीमा मुछिएको थियो।
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्राड्यूका एक प्रमुख सहयोगीको नाम पनि कर छलीमा मुछिएको छ। उनको विदेशी लगानीबाट क्यानडालाई दसौं लाख डलर नोक्सान भएको प्याराडाइज पेपर्सबाट खुलेको छ। क्यानडाका प्रधानमन्त्रीले यस्तो लगानी निरुत्साहित गर्ने बताउँदै आएका थिए।
कन्जरभेटिभ पार्टीका पूर्व डेपुटी अध्यक्ष लर्ड एसक्रफ्टले पनि विदेशी लगानी निर्देशित गर्ने नीति–नियम उल्लंघन गर्दै बाहिर लगानी गरेको छानबिनमा खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा उनले वाणिज्य सचिव नियुक्त गरेका विल्बर रसको नाम पनि यसमा मुछिएको छ। बिबिसीका अनुसार उनले एक सिपिङ कम्पनीमा लगानी गरेका छन्, जसले रुसी ऊर्जा कम्पनीलाई तेल र ग्यास आपूर्ति गरेर वर्षकै दसौं लाख डलर कमाउँछ।
उक्त सिपिङ कम्पनीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईं तथा अन्य दुई जना व्यक्ति सेयरधनी छन्। यसले डोनाल्ड ट्रम्प र रुसी सम्बन्धलाई लिएर प्रश्न उठेको छ। रुसले गत वर्ष अमेरिकी निर्वाचनको नतिजा प्रभावित पार्न खोजेको भन्दै ट्रम्पको आलोचना हुँदै आएको छ। ट्रम्पले भने यस्तो आरोपलाई ‘झूटो’ बताउँदै आएका छन्।
[caption id="attachment_102958" align="alignnone" width="826"]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा वाणिज्य सचिव विल्बर रस। तस्बिर स्रोत: एनबिसी[/caption]
यी गोप्य वित्तीय विवरण बर्मुडास्थित कानुनी सेवाप्रदायक कम्पनी ‘एप्पलबाई’ सँग सम्बन्धित छन्। यो कम्पनीले आफ्ना सेवाग्राहीलाई करको दर कम वा शून्य रहेका देशमा लगानी गर्ने चाँजो मिलाउँदै आएको छ। ठूला राजनीतिक नेता, बहुराष्ट्रिय कम्पनी, सेलिब्रिटी तथा धनीहरूले आफ्नो वास्तविक सम्पत्ति लुकाएर कर छल्न यस्तै देशमा लगानी गरेको पाइएको छ।
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय महासंघ (आइसिआइजे) मा आबद्ध सञ्चारमाध्यमहरूले संयुक्त रूपमा ती गोप्य विवरण हात पारेर अनुसन्धान बढाएका हुन्। एक वर्षअघि आइसिआइजेकै सक्रियतामा पनामा पेपर्स सार्वजनिक भएको थियो। त्यसमा नाम मुछिएपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफसहित केही देशका सरकारप्रमुखले राजीनामा दिएका थिए।
आइतबार सार्वजनिक विवरण प्याराडाइज पेपर्सको सानो हिस्सा मात्र भएको बिबिसीले जनाएको छ। उक्त विवरणमा भेटिएका तथ्य यो साताभरि क्रमशः सार्वजनिक गरिनेछ। यसबाट संसारका सयौं प्रतिष्ठित व्यक्ति तथा कम्पनीले कर छल्न कसरी बाह्य मुलुकमा लगानी गरेका छन् भनी खुलासा हुनेछ।
यो अभियानमा आबद्ध सञ्चारमाध्यमहरूले उच्च तहको भ्रष्टाचार खुलासा गर्न यी गोप्य विवरण सार्वजनिक गरेको जनाएका छन्।
आफ्नो कम्पनीको नाम मुछेर वित्तीय विवरण सार्वजनिक भएकोमा प्रतिक्रिया दिँदै एप्पलबाईले भनेको छ, ‘हामी वा हाम्रा सेवाग्राहीमार्फत् गैरकानुनी काम भएको कुनै प्रमाण फेला परेको छैन। हामी आफैं पनि गैरकानुनी गतिविधि स्वीकार गर्दैनौं।’
कम वा शून्य करको लाभ उठाउन त्यस्ता देशमा लगानी गर्नुलाई गैरकानुनी मान्न नमिल्ने उसले बताएको छ।
यस किसिमको गतिविधिमा अर्बौं अर्ब डलर कारोबार हुन्छ, जुन बेलायत, जापान र फ्रान्सको कुल अर्थतन्त्रभन्दा ठूलो हुन्छ। यसबाट सम्बन्धित देशमा आउनुपर्ने राजस्व चुहावट हुने गरेकाले यस्तो लगानी निरुत्साहित गर्नुपर्ने आवाज उठ्दै आएको छ।
यसमा कुनै एउटा नाम मात्रको कागजी कम्पनी खडा गरिन्छ, जसलाई ‘शेल कम्पनी’ भनिन्छ। यस्तो कम्पनी करको दर कम वा छुट भएका र गोपनीयता कायम राख्ने देशमा दर्ता हुन्छ। यसमा ब्रिटिस भर्जिनिया टापु, बर्मुडा, केमन द्विप लगायत पर्छन्। वास्तविक लगानीकर्ताले आफ्नो परिचय गोप्य राख्न प्रतिनिधिमार्फत् कम्पनी चलाउँछन्।
त्यसपछि अर्को कुनै त्यस्तै कर छुट पाइने देशमा बैंक खाता खोलिन्छ। यो खाता पनि गोप्य नै हुन्छ। खाता खुलेपछि शेल कम्पनीले त्यसमा पैसा जम्मा गर्न थाल्छ। कम्पनीको सम्पत्ति जोड्न पनि रकम उपयोग हुन्छ। यसबाहेक ऋण पनि दिने गरिन्छ, जुन कहिल्यै तिर्नुपर्दैन।