राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति रामवरण यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ नदिएकाले उनको निवासको भाडा तिर्न नसकेको बताएको छ।
सेतोपाटीसँग कुरा गर्दै कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्यालले राष्ट्रपति कार्यालयले तपाईँ मासिक २ लाख कि १ लाख घर भाडा लिनुहुन्छ भनी सोधेको तर उनले त्यसको जवाफ नपठाएकाले भाडा तिर्न ढिला भएको बताए।
‘गत माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिलाई आफ्नै घर नभए २ लाख र घर भए १ लाख रुपैयाँ मासिक भाडा दिने निर्णय गरेको थियो,’ पौड्यालले भने, ‘सोही अनुसार हामीले उहाँलाई कति पैसा लिनुहुन्छ भनेर सोधेका थियौं तर अहिलेसम्म जवाफ नआएले भाडा रकम निकासा नभएको हो।’
घरभाडा तोकेर लिनेभन्दा पनि जति लाग्छ सबै सरकारले तिरिदेओस् भन्ने पूर्वराष्ट्रपति यादवको चाहना रहेको उनका स्वकीय सचिव किरण पन्थीले बताए।
‘मर्यादाले पनि पैसाको कारोबार गर्न मिल्दैन भन्ने उहाँको चाहाना हो,’ पन्थीले भने, ‘यही व्यहोराको पत्र मैले प्रधानमन्त्री/राष्ट्रपति कार्यालयमा बुझाइसकेको छु।’
यो पनि पढनुस्पूर्वराष्ट्रपति यादवले गत साउनदेखि घरबहाल सम्झौता नवीकरण नगरी बसेको भन्दै घरधनी रविभक्त बिष्टले सोमबार सार्वजनिक सूचना निकालेका छन्।
उनले आफ्नो घर बहाल र बिजुली महसुलसमेत नतिरी जबरजस्ती बस्नेरबसाउने कार्य भइरहेको उल्लेख गर्दै उनले यसअघि राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटकपटक लिखित सूचना दिए पनि सुनुवाइ नभएको जिकिर गरेका छन्।
बिष्टले १५ दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्नेसमेत बताएका छन्।
२०७२ असोजमा कार्यकाल सकिएपछि पूर्वराष्ट्रपति यादव ललितपुर महानगर– ४ बागडोलमा रहेको बिष्टको घरमा भाडामा बस्दै आएका छन्।