गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले कांग्रेसलाई अग्रगमनको यात्रालाई रोक्ने दक्षिणपन्थी र यथास्थितिवादी भएको बताएका छन्।
राजधानी मंगलबार सार्वजनिक गरिएको साझा घोषणामा उनीहरुले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय हित र स्वाभिमान कुण्ठित हुने गरी बाह्य शक्ति केन्द्रहरूको सल्लाह, परामर्श र आदेशलाई शिरोधार्य गर्नुपर्ने कांग्रेस मान्यता रहको भन्दै उसले आफूबाहेक अरु सबैलाई ‘अतिवादी’ र लोकतन्त्र विरोधी देख्ने तर आपूm सत्तामा रहँदा सधैं अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने गरेको आरोप लगाएका छन्।
‘यसले कानुनी राज्यको उपहास गर्ने, पृथकतावाद र साम्प्रदायिकतालाई प्रश्रय दिने, आस्थाको आधारमा वैमनस्यता फैलाउने, निजी स्वार्थमा राष्ट्रिय सम्पत्तिको चरम दुरूपयोग गर्ने, भ्रष्टाचार तथा विकृति र विसंगतिलाई पक्षपोषण गरिरहेको छ,’ घोषणामा भनिएको छ, ‘‘विशेष सम्बन्ध’को नाममा छिमेकी देशहरूसँगको सम्बन्धलाई असन्तुलित बनाउँदै राष्ट्रियता, स्वाभिमान र राष्ट्रहित विपरीत कार्य गर्ने प्रवृत्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गरिरहेको छ।’
दुई दलले कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र, वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौता परस्त र आत्मसमर्पणवादी रहेको आरोप लगाएका छन्।
‘यस पार्टीका नीतिहरू अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन्। यस पार्टीको मूल चरित्र कम्युनिस्टविरोधी, श्रमजीवी जनताविरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ,’ घोषणामा भनिएको छ, ‘सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ। बहुमत प्राप्त गरेको समयमा स्थीर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ।’
गठबन्धनले कांग्रेसलाई नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको, भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ, प्रशाासन, न्याय प्रणाली, सुरक्षा निकाय र सरकारी संस्थानलाई पार्टीकरण गर्ने यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको र राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना ऊसँग नभएको आरोप लगाएको छ।
गठबन्धनले तिनीहरूमध्ये केही साना कम्युनिस्ट समूहहरू जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्ति रहेको बताएको तछ।
एमाले र माओवादीले अन्य पार्टीहरूले मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने, राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्ने र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक– आर्थिक रूपान्तरणको विरोध गर्दै आएका, राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध रहेको बताएका छन्।